काठमाडौं, साउन २६ । नेपाली कांग्रेसले सुनसरीको देवानगञ्ज–कप्तानगञ्ज घटनाको छानबिन गर्न तत्काल निष्पक्ष न्यायिक आयोग गठन गर्न सरकारसँग माग गरेको छ।
जारी केन्द्रीय समिति बैठकपछि कांग्रेस प्रवक्ता देवराज चालिसेले विज्ञप्ति जारी गर्दै घटनाको निष्पक्ष छानबिनका लागि आयोग गठन गर्न माग गर्नुभएको हो।
कांग्रेसले सरकारले पीडित पक्षलाई न्याय दिने प्रतिबद्धतासहित सम्झौता गरे पनि हालसम्म चार जनालाई शहीद घोषणा गर्नेबाहेक सम्झौता कार्यान्वयन हुन नसकेको जनाएको छ। सरकारको यस्तो गैरजिम्मेवार रवैयाका कारण स्थानीय समुदायमा आक्रोश बढ्दै गएको कांग्रेसको निष्कर्ष छ।
सरकारको ‘हेपाहा प्रवृत्ति’का कारण पुनः अर्को दुर्घटना निम्तिने खतरा बढेको भन्दै कांग्रेसले सरकारसँग गरिएका सम्झौता तत्काल कार्यान्वयन गर्न माग गरेको छ।
कांग्रेसले चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मी, निजामती कर्मचारी, राहत शिक्षक, यातायात व्यवसायी, दुग्ध तथा उखु किसान, मिटरब्याजपीडितलगायत विभिन्न पेशा, व्यवसाय र नागरिक संघ–संस्थासँग सरकारले गरेका सम्झौता कार्यान्वयन गर्न पनि माग गरेको छ।
सरकारले नागरिक तथा पेशागत संघ–संस्थासँग गरेका सहमति र समझदारीलाई तत्काल उम्किने माध्यमका रूपमा प्रयोग नगरी इमानदारीपूर्वक कार्यान्वयन गर्नुपर्ने कांग्रेसको भनाइ छ।
हरेक नागरिक समूह तथा पेशागत संघ–संस्थासँग गरिएका सहमति तत्काल कार्यान्वयन गरी सम्बन्धित पक्षलाई राहत र न्याय दिन पनि कांग्रेसले आग्रह गरेको छ।
कांग्रेसले हरेक घटनामा सहमति गर्न तत्पर हुनु मात्र सरकारको उपलब्धि नभएको भन्दै सहमति कार्यान्वयनमा देखिएको ढिलाइप्रति चिन्ता व्यक्त गरेको छ।
कांग्रेसको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्ने क्रम जारी रहेको छ।














प्रतिक्रिया दिनुहोस्