काठमाडौं, २६ साउन । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश सरकारमा सहकार्य गर्ने क्रममा मन्त्रालय बाँडफाँटको प्रस्तावित आधार तय गरेका छन्।
दुई दलबीच भएको तीनबुँदे सहमति कार्यान्वयन गर्ने क्रममा प्रदेश सरकार गठन तथा मन्त्रालय बाँडफाँटका लागि आधार तय गरिएको हो।
एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गरेको विज्ञप्तिमा प्रदेश सरकार गठन गर्दा सम्बन्धित प्रदेशसभामा प्रत्येक दलको सिट संख्या मुख्य आधार बनाइने उल्लेख छ।
त्यस्तै, मन्त्रालय बाँडफाँट गर्दा प्रदेशसभामा दलहरूको सदस्य संख्याको अनुपातलाई आधार बनाउने प्रस्ताव गरिएको छ। मुख्यमन्त्री र सभामुखको जिम्मेवारीलाई समेत शक्ति सन्तुलनको हिसाबमा गणना गरिने जनाइएको छ।
मन्त्रालय बाँडफाँटका क्रममा पालैपालो प्राथमिकता दिने व्यवस्था प्रस्ताव गरिएको छ। जसअनुसार पहिलो मन्त्रालय मुख्यमन्त्रीको जिम्मेवारी नलिने दलले छनोट गर्ने र दोस्रो मन्त्रालय मुख्यमन्त्रीको जिम्मेवारी लिने दलले छनोट गर्ने व्यवस्था हुनेछ।
त्यसपछि यही क्रम पालैपालो दोहोर्याउँदै सबै मन्त्रालय बाँडफाँट गरिने दुई दलले जनाएका छन्।
यसअघि साउन ९ गते एमाले र नेकपाबीच प्रदेश सरकारको नेतृत्वका विषयमा शीर्ष तहमा सहमति भएको थियो।














प्रतिक्रिया दिनुहोस्