जनता टाइम्स

२७ श्रावण २०८३, बुधबार ०७:४६

आज अन्तर्राष्ट्रिय युवा दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै


काठमाडौं, साउन २७ आज अन्तर्राष्ट्रिय युवा दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ।

यस वर्ष अन्तर्राष्ट्रिय युवा दिवसको मूल नारा ‘भिन्न परिवेश, साझा आकाङ्क्षा’ रहेको छ। युवाको भूमिका र योगदानको महत्वलाई उजागर गर्ने उद्देश्यले हरेक वर्ष अगस्त १२ तारिखमा यो दिवस मनाउने गरिन्छ।

संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २००० देखि अन्तर्राष्ट्रिय युवा दिवस मनाउन थालिएको हो। दिवसको मुख्य उद्देश्य राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा युवा केन्द्रित बहस र पैरवी गर्ने, नीति निर्माण तथा कार्यान्वयनमा युवाको सहभागिता बढाउने र युवामैत्री शासन प्रवर्द्धन गर्नु हो।

त्यस्तै, युवा केन्द्रित सरकारी, गैरसरकारी तथा निजी संस्था–निकायबीच सहकार्य र साझेदारी बढाउने तथा युवाका क्षेत्रमा लगानी अभिवृद्धि गर्ने उद्देश्यसमेत दिवसले बोकेको छ।

दिवसका अवसरमा आज काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा विशेष समारोह आयोजना हुँदैछ। समारोहमा सूचना प्रविधि तथा स्टार्टअप व्यवसायसम्बन्धी प्रदर्शनीसमेत गरिँदैछ।

दिवसका अवसरमा सूचना प्रविधि उद्यमी तथा स्टार्टअप व्यवसाय राष्ट्रिय पुरस्कारबाट विभिन्न ६ वटा व्यवसायलाई पुरस्कृत गरिँदैछ। सातै प्रदेशका युवा उद्यमीलाई पनि पुरस्कार प्रदान गर्ने कार्यक्रम रहेको छ।

राष्ट्रिय युवा परिषद्का अध्यक्ष एवं युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवको अध्यक्षतामा साउन १ गते बसेको बैठकले अन्तर्राष्ट्रिय युवा दिवस भव्य रूपमा मनाउने निर्णय गरेको थियो।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा १६ देखि ४० वर्ष उमेर समूहको जनसंख्या १ करोड २४ लाख १२ हजार १७३ रहेको छ। यो कुल जनसंख्याको ४२ दशमलव ५६ प्रतिशत हो। युवालाई मानव जीवनमा जोश, जाँगर, उत्साह र ऊर्जाले भरिपूर्ण उमेर समूहका रूपमा लिइन्छ।