जनता टाइम्स

२७ श्रावण २०८३, बुधबार ०७:४९

रामेछापकाे उमाकुण्डमा खाेल्सामा आएको भलले बगाउँदा बालकको मृत्यु


रामेछाप, साउन २७  । लगातारको वर्षापछि आएको खाेल्सा आएकाे भलमा परेर रामेछापको उमाकुण्ड गाउँपालिकामा पाँच वर्षीय बालकको मृत्यु भएको छ ।

उमाकुण्ड गाउँपालिका–४ च्यादलुमा म‌ंगलबार साँझ विद्यालयबाट घर फर्किरहेका सुसान्त सुनुवार खाेल्सामा आएकाे भलमा परेका थिए । च्याखे धाराको खोल्सामा एक्कासि आएको भेलले उनलाई बगाएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

प्रहरीका अनुसार तिर्थे घर भएका विक्रम सुनुवारका छोरा सुसान्त च्यादलुस्थित चण्डेश्वरी माध्यमिक विद्यालयमा अध्ययन गर्दै आएका थिए । उनी गौरीखर्कस्थित मामाघरमा बसेर पढ्दै आएका थिए ।

विद्यालय छुट्टी भएपछि घर फर्कने क्रममा खोल्सामा आएको भलले बालकलाई बगाएको खबर पाएपछि प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो । खोजीका क्रममा बालकलाई मृत अवस्थामा फेला पारिएको प्रहरी निरीक्षक तथा जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी कमल राउतले जानकारी दिनुभयाे । 

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ ।