जनता टाइम्स

२७ श्रावण २०८३, बुधबार ०७:५१

देशका केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना


काठमाडौं, साउन २७ देशका केही स्थानमा आज मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुने सम्भावना रहेको छ। यद्यपि, भारी वर्षाको सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार दिउँसो कोसी र मधेस प्रदेशका साथै देशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बादल लाग्नेछ। वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा आंशिक बदली रहनेछ।

हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ।

त्यस्तै, मधेस, कोसी र वाग्मती प्रदेशका तराई भूभागका थोरै स्थान तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्मको वर्षा हुने सम्भावना छ।

राति देशभर सामान्यतया बदली रहने विभागले जनाएको छ। कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ।

कोसी, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थान तथा मधेस प्रदेशका एक–दुई स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यमसम्मको वर्षा हुन सक्ने विभागले जनाएको छ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा रहेको विभागले जनाएको छ।