काठमाडौं, साउन २७ । सरकारले जिम्मेवारीविहीन बनाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा राखेको केही समयमै दुई सचिवले राजीनामा दिएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा रहनुभएका बाबुराम अधिकारी र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. कमलप्रसाद पोखरेलले राजीनामा दिनुभएको हो।
प्रदेशको प्रमुख सचिवका रूपमा कार्यरत अधिकारीलाई अवकाशको समय नजिकिँदै गर्दा एकाएक बागमती प्रदेशको प्रमुख सचिवबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा ल्याइएको थियो।
आगामी भदौ ४ गते अनिवार्य अवकाशमा जान लाग्नुभएका अधिकारीलाई अवकाशको करिब एक महिना बाँकी रहँदा जिम्मेवारीबाट हटाइएको थियो। जिम्मेवारी खोसेर अतिरिक्त समूहमा राखिएकोप्रति उहाँ असन्तुष्ट रहेको स्रोतको भनाइ छ।
सचिवलाई जिम्मेवारीविहीन बनाएर अतिरिक्त समूहमा राख्ने सरकारको निर्णयप्रति प्रशासनिक वृत्तमा प्रश्न उठिरहेका बेला अधिकारीले राजीनामा दिनुभएको हो।
त्यस्तै, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. कमलप्रसाद पोखरेलले पनि राजीनामा दिनुभएको छ। उहाँको सचिवका रूपमा अझै करिब एक वर्ष कार्यकाल बाँकी थियो।
पोखरेललाई केही दिनअघि मात्रै राष्ट्रिय तथ्यांक कार्यालयबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सचिवका रूपमा सरुवा गरिएको थियो। मन्त्रालयमा जिम्मेवारी सम्हालेको छोटो समयमै उहाँले राजीनामा दिनुभएको हो।
एकैपटक दुई सचिवले राजीनामा दिएपछि निजामती प्रशासनमा देखिएको असन्तुष्टि, जिम्मेवारी हेरफेर तथा वरिष्ठ प्रशासनिक अधिकारीको व्यवस्थापनको विषय पुनः चर्चामा आएको छ।














प्रतिक्रिया दिनुहोस्