काठमाडौं, साउन २७ । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभरका मुख्य राजमार्ग तथा सडक खण्ड प्रभावित भएका छन्। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार विभिन्न प्रदेशमा दर्जनभन्दा बढी सडक खण्ड पूर्ण वा आंशिक रूपमा अवरुद्ध छन्।
सम्भावित बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्ग र कान्ति लोकपथमा रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाइएको छ।
काभ्रेपलाञ्चोकको खुरकोट–नेपालथोक–कटुन्जेबेंसी सडक खण्डमा पर्ने बीपी राजमार्गमा बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारी सञ्चालनमा रोक लगाइएको छ। बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने अवस्था हेरेर सवारी सञ्चालन गर्न दिइने व्यवस्था गरिएको छ।
त्यस्तै, मकवानपुरको हेटौँडा–ठिङ्गन–बागमती हुँदै ललितपुर आउने कान्ति लोकपथमा बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ। यो व्यवस्था अर्को सूचना जारी नभएसम्म लागू हुने जनाइएको छ।
सिन्धुपाल्चोकमा पहिरोका कारण अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। भोटेकोशी गाउँपालिकाका चारकिलो, कोदारी र लिपिङ क्षेत्रमा पहिरो खसेपछि तातोपानी जाने सडक बन्द भएको हो।
रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा बाढी आएपछि त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडक खण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको छ।
कोशी प्रदेशमा इलाम नगरपालिका–९ राजदुवालीमा झापादेखि ताप्लेजुङ जोड्ने मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त सडक खण्डमा वैकल्पिक बाटो भने रहेको छ।
भोजपुर नगरपालिका–५ बोखिममा बाढीका कारण मध्यपहाडी लोकमार्ग प्रभावित भएको छ। वैकल्पिक बाटोबाट हाल एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ।
गण्डकी प्रदेशमा पनि विभिन्न सडक खण्ड पहिरोका कारण प्रभावित भएका छन्। बागलुङको जैमिनी नगरपालिकास्थित बेलबगरमा पहिरो खसेपछि कालीगण्डकी करिडोर एकतर्फी रूपमा मात्र सञ्चालन भइरहेको छ।
लमजुङको मध्यनेपाल नगरपालिकास्थित बिमिरेभञ्ज्याङमा पहिरोका कारण मध्यपहाडी लोकमार्ग पनि एकतर्फी रूपमा सञ्चालन भइरहेको छ।
कर्णाली प्रदेशमा रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–६ स्थित रिजेगार्ड खोलामा आएको बाढीका कारण भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।
लगातारको वर्षाका कारण सडक अवरुद्ध हुँदा यात्रु तथा मालवाहक सवारीसाधन प्रभावित भएका छन्। सम्बन्धित निकायले अवरुद्ध सडक खुलाउने प्रयास जारी राखेका छन्।














प्रतिक्रिया दिनुहोस्