काठमाडौं, साउन २७ । संघीय संसद्अन्तर्गत आज विभिन्न सात वटा संसदीय समितिको बैठक बस्दैछ। संसद् सचिवालयका अनुसार अर्थ, उद्योग वाणिज्य तथा श्रम र उपभोक्ता हित, कानुन, न्याय तथा मानव अधिकार, महिला तथा सामाजिक मामिला, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि, सार्वजनिक लेखा तथा विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्न लागेको हो।
अर्थ समितिको बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका हालसम्मका कामकारबाही, वित्तीय संघीयता कार्यान्वयनमा आयोगको भूमिका, समस्या तथा चुनौती र आयोगका सिफारिस कार्यान्वयनको अवस्थाबारे छलफल हुनेछ।
कानुन, न्याय तथा मानव अधिकार समितिमा विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीको मानव अधिकार अवस्थासम्बन्धी अध्ययन उपसमिति, २०८३ को प्रतिवेदन पेस गरी छलफल गरिनेछ।
महिला तथा सामाजिक मामिला समितिको बैठकमा बाल गृह, बाल सुधार गृह, महिला सुरक्षित आवास गृह, वृद्धाश्रम तथा अन्य सामाजिक संस्थाको संस्थागत अवस्था र अनुगमन निष्कर्षमाथि छलफल हुनेछ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ का सम्बन्धमा छलफल गर्ने कार्यसूची छ।
सार्वजनिक लेखा समितिको बैठक दिउँसो १ बजे बस्नेछ। बैठकमा गृह मन्त्रालयसम्बद्ध उजुरीमाथि छलफल गरिनेछ।
त्यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विगतका कोप सम्मेलनमा भएका निर्णय तथा सम्झौता र तिनको कार्यान्वयन अवस्थाबारे छलफल हुनेछ। साथै, कार्यान्वयनका लागि नेपाल सरकारले गरेका कामकारबाहीबारे पनि जानकारी लिइनेछ।
यस समितिले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन कोप–३१ मा नेपालको सहभागिताका लागि भइरहेको तयारीबारे सम्बन्धित सरकारी अधिकारीसँग जानकारी लिने कार्यक्रमसमेत रहेको छ।














प्रतिक्रिया दिनुहोस्