जनता टाइम्स

२७ श्रावण २०८३, बुधबार ०९:२०

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले बोलाए कांग्रेस संसदीय दलको बैठक, राजीनामाको तयारी


काठमाडौं, साउन १७ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कांग्रेस संसदीय दलको बैठक बोलाउनुभएको छ । कांग्रेस संसदीय दलका नेतासमेत रहनुभएका मुख्यमन्त्री शाहले बुधबार दिउँसो २ बजेका लागि बैठक आह्वान गर्नुभएको हो ।

बजेट पारित गर्ने विषयमा नेकपा एमालेसँग विवाद चर्किएपछि मुख्यमन्त्री शाहले गत असार ३१ गते एमालेबाट सरकारमा सहभागी चार मन्त्रीलाई पदमुक्त गर्नुभएको थियो । त्यसलगत्तै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । समर्थन फिर्तापछि मुख्यमन्त्री शाह नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

एमालेले समर्थन फिर्ता लिएको २९औँ दिनमा मुख्यमन्त्री शाहले कांग्रेस संसदीय दलको बैठक बोलाउनुभएको हो । कांग्रेसकी प्रमुख सचेतक सरस्वती खड्काका अनुसार बैठकमा प्रदेश सरकारको आगामी अवस्थाबारे छलफल गरी निर्णय गरिनेछ । उहाँका अनुसार मुख्यमन्त्री शाहले राजीनामा दिने तयारी गर्नुभएको छ ।

मुख्यमन्त्री शाहले प्रदेश प्रमुखलाई सिधै राजीनामा बुझाउने वा प्रदेश सभामा सम्बोधन गरेर राजीनामा घोषणा गरी त्यसपछि प्रदेश प्रमुखसमक्ष पत्र बुझाउने भन्ने विषयमा बैठकमा परामर्श गरिने बताइएको छ ।

केन्द्रमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र एमालेबीच सत्ता सहकार्यको सहमति बनेपछि सुदूरपश्चिममा शाह नेतृत्वको सरकार जोगाउने कांग्रेसको प्रयास असफल बनेको हो । मुख्यमन्त्री शाहले सरकार टिकाउन नेकपाको समर्थन जुटाउने प्रयास गर्नुभएको भए पनि केन्द्रको राजनीतिक समीकरणका कारण त्यो सम्भव हुन सकेन ।

शाह २०८१ साउन २० गते एमालेको समर्थनमा दोस्रोपटक सुदूरपश्चिमको मुख्यमन्त्री बन्नुभएको थियो । यसअघि उहाँ २०७९ माघ २६ गते पहिलोपटक मुख्यमन्त्री बन्नुभएको थियो । २०८० चैत २२ गते राजनीतिक समीकरण परिवर्तन भएपछि उहाँले मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको थियो ।

शाहले राजीनामा दिएपछि सुदूरपश्चिममा नेकपाका नेता खगराज भट्टको नेतृत्वमा नयाँ सरकार गठन गर्ने तयारी छ । मुख्यमन्त्रीको राजीनामापछि प्रदेश प्रमुख नजिर मियाँले संविधानबमोजिम नयाँ सरकार गठनका लागि आह्वान गर्नुहुनेछ । त्यसपछि एमालेको समर्थनमा भट्टलाई मुख्यमन्त्री बनाउने तयारी गरिएको छ ।