जनता टाइम्स

२७ श्रावण २०८३, बुधबार १०:५४

रौतहटमा दुई बालबालिकाको शव फेला, एक बालिका अझै बेपत्ता


रौतहट, साउन २७ रौतहटको लालबकैया नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये दुई जनाको शव बुधबार बिहान फेला परेको छ। एक बालिका भने अझै बेपत्ता छन्।

बुधबार दिउँसो नदीमा नुहाउन गएका एक बालक र दुई बालिका डुबेर बेपत्ता भएका थिए। बेपत्तामध्ये देवाही गोनाही नगरपालिका–२ लक्ष्मिनियाका १० वर्षीय मोहमद रहमतुल्लाह र सोही स्थानकी १० वर्षीया सवनम खातुनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रहरीका अनुसार दुवै जनाको शव नदीमा तैरिरहेको अवस्थामा स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए।

बेपत्ता रहेकी बालिकाको भने खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

फेला परेका शवको कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी वसन्त गौतमले जानकारी दिनुभयो।