जनता टाइम्स

२७ श्रावण २०८३, बुधबार १९:३०

नेपालसहित दक्षिण एसियामा राजनीतिक उथलपुथानको मुख्य कारण रोजगार अभाव : आईएलओ (प्रतिवेदन सहित)


काठमाडौं, साउन २७ नेपाल, बङ्गलादेश र श्रीलङ्कामा देखिएको राजनीतिक उथलपुथल तथा सामाजिक असन्तोषको प्रमुख कारण रोजगारीको अभाव र मर्यादित कामको कमी रहेको अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ)ले जनाएको छ।

आईएलओको ‘ग्लोबल इम्प्लोयमेन्ट ट्रेन्ड्स फर युथ २०२६’ प्रतिवेदनअनुसार सुस्त आर्थिक वृद्धि र कमजोर रोजगारी सिर्जनाका कारण युवामा निराशा बढेको छ।

नेपालजस्ता विकासशील देशमा १० मध्ये ९ युवा न्यून आय तथा सामाजिक सुरक्षाविहीन अनौपचारिक क्षेत्रमा काम गर्न बाध्य रहेको प्रतिवेदनमा उल्लेख छ।

सन् २०२५ मा विश्वव्यापी युवा बेरोजगारी दर १२.४ प्रतिशत पुगेको भन्दै आईएलओले रोजगारीको अभाव, भ्रष्टाचार र युवाका अपेक्षा पूरा हुन नसक्नु दक्षिण एसियालगायत विभिन्न देशमा देखिएको राजनीतिक असन्तोषको प्रमुख कारण रहेको जनाएको छ।

आईएलओका महानिर्देशक गिल्बर्ट एफ हौङवोले युवालाई गुणस्तरीय र सम्मानजनक रोजगारी उपलब्ध गराउनु देशको स्थायित्वका लागि महत्वपूर्ण हुने बताउनुभएको छ।