जनता टाइम्स

२७ श्रावण २०८३, बुधबार १९:३६

रवि लामिछानेले स्वीकार गरे बालेन नेतृत्वको सरकारले काम नगरेको तथ्य


काठमाडौं, साउन २७ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले युवा नेतृत्वको सरकार र चुनावी परिणामले मात्रै मुलुकको वर्षौंदेखिको सपना पूरा नहुने बताउनुभएको छ।

बुधबार नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा बोल्दै उहाँले सरकारले परिणाममुखी काम गरेर देखाउनुपर्ने बताउनुभयो। सरकार गठन भएको चार महिना बितिसक्दा पनि सडकको आवाज कम नभएको भन्दै उहाँले सरकारमाथि परिणाम दिने चुनौती थपिएको उल्लेख गर्नुभयो।

लामिछानेले नागरिकमा तत्काल परिणाम खोज्ने प्रवृत्ति बढ्दै गएको भन्दै धैर्यताको कमीले छिट्टै निराशा पैदा गर्न सक्ने बताउनुभयो। माइतीघरमा अझै भीड देखिनु निराशाको कारण हो वा नागरिक त्यसमा अभ्यस्त भइसकेका हुन् भन्ने छुट्याउन कठिन रहेको उहाँको भनाइ छ।

रास्वपाले संसदमा उमेर समूह मात्र नभई युवा पुस्ताको विचारको प्रतिनिधित्व गराउने प्रयास गरिरहेको बताउँदै उहाँले आफूहरू विकल्प खोज्न नभई विकल्प बन्न आएको दाबी गर्नुभयो।