जनता टाइम्स

२७ श्रावण २०८३, बुधबार १९:४७

देउवालाई स्वागत गर्न सुदूरपश्चिमबाट काठमाडौं आए कांग्रेसका नेता–कार्यकर्ता


काठमाडौं, साउन २७ नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई स्वागत गर्न सुदूरपश्चिमबाट ठूलो संख्यामा कांग्रेसका नेता–कार्यकर्ता काठमाडौं आएका छन्।

नेपाल तरुण दल कञ्चनपुरका अध्यक्ष महेशबहादुर चन्दको नेतृत्वमा नेता–कार्यकर्ताहरू धनगढीबाट विमानमार्फत काठमाडौं आएका हुन्। करिब एक वर्षपछि देउवा सार्वजनिक कार्यक्रममा सहभागी हुन काठमाडौं फर्किन लागेकाले उहाँको स्वागतका लागि नेता–कार्यकर्ता काठमाडौं आएका हुन्।

धनगढी विमानस्थलबाट काठमाडौं प्रस्थान गर्नुअघि नेता–कार्यकर्ताले ‘शेरबहादुर देउवा जिन्दावाद’ लगायतका नारा लगाएका थिए।

कांग्रेसका अनुसार सुदूरपश्चिमका करिब सबै जिल्लाबाट नेता–कार्यकर्ता देउवाको स्वागतका लागि काठमाडौं आइरहेका छन्। टोलीमा विभिन्न जिल्लाका पार्टी नेता तथा कार्यकर्ता सहभागी छन्।