काठमाडौं, साउन २७ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई बाजागाजा र सांस्कृतिक झाँकीसहित स्वागत गर्ने तयारी गरेको छ।
झण्डै ६ महिनापछि बिहीबार स्वदेश फर्किन लाग्नुभएका देउवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाजागाजा र सांस्कृतिक झाँकीसहित स्वागत गर्ने तयारी गरिएको हो।
कांग्रेस इतर समूहको राष्ट्रिय भेलाका लागि गठित सांस्कृतिक समितिकी संयोजक विद्या तिमिल्सिनाले देउवाको स्वागतमा सांस्कृतिक झाँकीसहितको कार्यक्रम गरिने जानकारी दिनुभयो।
देउवा उपचारका लागि गत फागुन १३ गते सिंगापुर जानुभएको थियो। त्यसपछि चैत ७ गते हङकङ पुग्नुभएका उहाँ बिहीबार थाई एयरको उडानमार्फत काठमाडौं फर्किन लाग्नुभएको कांग्रेस नेता प्रकाशशरण महतले जानकारी दिनुभयो।
स्वदेश फर्किएपछि देउवा शुक्रबार सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेलामा सहभागी हुनुहुनेछ। तीन दिनसम्म चल्ने भेलामा करिब पाँच हजार नेता–कार्यकर्ता सहभागी हुने आयोजकले जनाएको छ।














प्रतिक्रिया दिनुहोस्