जनता टाइम्स

२७ श्रावण २०८३, बुधबार २०:०७

भेरी नदीमा जिप खस्दा दुई जना बेपत्ता, दुई घाइते


सल्यान, साउन २७ पश्चिम सल्यानको वनगाड कुपिण्डे नगरपालिका–१ अम्रास्थित छिन्चु–जाजरकोट सडकखण्डबाट बोलेरो जिप भेरी नदीमा खस्दा दुई जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन् ।

बालुवासङ्ग्राहीबाट सल्लिबजारतर्फ जाँदै गरेको लु १ ज ३०२२ नम्बरको जिप बुधबार दिउँसो करिब २ बजे अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल नदीमा खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते २९ वर्षीय प्रेम विक र २१ वर्षीय खुमलाल बुढाथोकीको सल्लिबजारस्थित सल्ली सिटी अस्पतालमा उपचार भइरहेको छ । दुवैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

जिपसहित नदीमा बेपत्ता दुई जनाको पहिचान खुल्न सकेको छैन । नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उनीहरूको खोजी तथा उद्धार गरिरहेको छ । थप टोली परिचालनका लागि सुर्खेतसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ ।