काठमाडौं, साउन २७ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले रास्वपा सांसद खगेन्द्र सुनारले आफूविरुद्ध सार्वजनिक लेखा समितिमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएको छ ।
नेपाल प्रहरीको पोशाक खरिदमा अनियमितता भएको भन्दै सांसद सुनारले प्रहरी नेतृत्वलाई जिम्मेवारीबाट हटाएर छानबिन गर्नुपर्ने धारणा राख्नुभएको थियो ।
उहाँको भनाइप्रति प्रतिक्रिया जनाउँदै आईजीपी कार्कीले आफूलाई ‘पाषाणयुगीन मानसिकता बोकेका मान्छेबाट शासित हुँदै छौँ कि’ भन्ने चिन्ता लागेको बताउनुभयो ।
निष्ठापूर्वक काम गरिरहेका व्यक्तिलाई संसदीय समितिमा बोलाएर जथाभावी आरोप लगाउनु उचित नभएको उहाँले बताउनुभयो ।
उहाँले उजुरी परेका विषयमा अनुसन्धान र सोधपुछ हुनुपर्ने भए पनि त्यसका लागि संसदीय अभ्यासभित्र व्यवस्थित प्रक्रिया रहेको उल्लेख गर्नुभयो ।
‘आजसम्म निष्ठापूर्वक काम गरेका मान्छेलाई ल्याएर जथाभाबी भन्नु उचित होइन होला । कुनै पनि ठाउँको सामान्य मर्यादा त हुन्छ होला नि ?’ उहाँले भन्नुभयो ।
संसदीय समितिमा भएको व्यवहारले आफूलाई सहज महसुस नभएको उल्लेख गर्दै आईजीपी कार्कीले प्रहरीमाथि अनुसन्धान गर्नुपर्ने भए पनि त्यसका लागि मर्यादित र व्यवस्थित प्रक्रिया अपनाउनुपर्नेमा जोड दिनुभयो ।














प्रतिक्रिया दिनुहोस्