जनता टाइम्स

२८ श्रावण २०८३, बिहीबार ०४:४२

किशाेर श्रेष्ठ पक्राउको बिराेधमा रातभर पत्रकारले दिए प्रहरी कार्यालयमै धर्ना, महासंघ अध्यक्षकै नेतृत्व


काठमाडौं, साउन २८। पत्रकार किशोर श्रेष्ठ पक्राउको बिराेधमा रातभर पत्रकारले काठमाडौं प्रहरी परिसर अगाडि नारावाजीसहित धर्ना दिएका छन । समाचार लेखेकै आधारमा कानूनभन्दा बाहिर गएर शाहीकालिन झल्काेसहित पत्रकार श्रेष्ठलाई पक्राउ गरेपछि नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माको नेतृत्वमा पत्रकारले रातभर धर्ना दिएका हुन ।

श्रेष्ठलाई बुधवार राती काठमाडौं प्रहरीले पक्राउ गरेको हो । ललितपुरको कुसुन्तीस्थित निवासबाटै पत्रकार श्रेष्ठलाई पक्राउ गरिएको थियाे ।

आस्था मिडियाका अध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक श्रेष्ठको गिरफ्तारीविरुद्ध पत्रकारहरूले आवाज उठाएका हुन । जनआस्था साप्ताहिकमा प्रकाशित एक समाचारको विषयलाई लिएर प्रहरीले ललितपुरको नख्खुस्थित निवासबाट बुधबार साँझ अध्यक्ष श्रेष्ठलाई पक्राउ गरी प्रहरी परिसर काठमाडौंको हिरासतमा राखेको छ।

पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मा, प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डे लगायतको उपस्थितिमा पत्रकारहरूले परिसर अगाडि नाराबाजी गर्दै श्रेष्ठको रिहाइको माग गरे। उनीहरूले प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई आग्रहसमेत गरेका छन् ।

चार दशकदेखि पत्रकारितामा सक्रिय श्रेष्ठ नेतृत्वको जनआस्था मिडियाले स्थापनाको तीन दशकभन्दा बढी समयदेखि सरकार र सरकारी अधिकारीहरुबाट हुने गरेका गैरकानुनी कार्यको पर्दाफास गर्दै आएको छ । जसका कारण सदैव सत्ताधारीहरूको आँखाको तारो बन्दै आएका उनीमाथि वर्तमान सरकारले पनि प्रकाशित समाचारकै विषयलाई लिएर पटकपटक धरपकड गर्दै आएको थियो।

विश्व प्रेस काउन्सिलका वरिष्ठ उपाध्यक्षसमेत रहनुभएका श्रेष्ठ प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष एवम् नेपाल पत्रकार महासंघका पूर्व महासचिव हुनुहुन्छ । खोजी पत्रकारितामा छुट्टै पहिचान बनाएका उहाँ खरो र निर्भिक पत्रकारका रूपमा परिचित छन्।