जनता टाइम्स

२८ श्रावण २०८३, बिहीबार ०७:३५

रोल्पामा पहिरोले ६ वटा घरगोठ पुरिँदा २ जनाको ज्यान गयो, १० जना बेपत्ता


काठमाडौं, साउन २८ । लगातारको वर्षापछि खसेको पहिरोले रोल्पामा घरगोठ पुरिँदा २ जनाको ज्यान गएको छ ।

२ जना गम्भीर घाइते छन् । जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार थवाङ गाउँपालिका–५ बोटलबारामा पहिरोले ६ वटा घर गोठहरु पुरिंदा अरु १० जना बेपत्ता छन् ।

हिजो बेलुकी पौने ९ बजेतिर खसेको पहिरोमा परी १८ वर्षीया शान्ति पुन मगर र ६० वर्षीय कमलबहादुर पुन मगरको ज्यान गएको प्रहरीले जनाएको छ ।

पहिरोमा परी घाईते २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सन्जय घर्ती मगरलाई गम्भीर अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ । घटनास्थल विकट रहेकाले घटनाको थप विवरण संकलन भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।