काठमाडौं, साउन २८ । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आज करिब ६ महिनापछि स्वदेश फर्किंदै हुनुहुन्छ । उहाँ बिहीबार मध्याह्न साढे १२ बजे थाई एयरको उडानबाट काठमाडौं आइपुग्ने कांग्रेस नेता डा. प्रकाशशरण महतले जानकारी दिनुभएको छ ।
देउवाको स्वागतका लागि कांग्रेसको संस्थापनइतर समूहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाजागाजा तथा सांस्कृतिक झाँकीसहितको कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ । सांस्कृतिक समिति संयोजक विद्या तिमिल्सिनाका अनुसार उहाँको स्वागतमा विशेष सांस्कृतिक झाँकी प्रस्तुत गरिनेछ ।
जेनजी आन्दोलनका क्रममा भएको आक्रमणमा घाइते भएपछि देउवा गत फागुन १३ गते उपचारका लागि सिंगापुर जानुभएको थियो । त्यसपछि थप उपचारका लागि चैत ७ गते सिंगापुरबाट हङकङ पुग्नुभएको थियो ।
स्वदेश फर्किएपछि देउवा शुक्रबार सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा आयोजना हुने कांग्रेसको संस्थापनइतर समूहको राष्ट्रिय भेलामा सहभागी हुनुहुनेछ । तीन दिनसम्म चल्ने भेलामा करिब पाँच हजार नेता–कार्यकर्ता सहभागी हुने आयोजकको अनुमान छ ।













प्रतिक्रिया दिनुहोस्