जनता टाइम्स

२८ श्रावण २०८३, बिहीबार ०८:३९

जनआस्था कार्यालयमा बिहानै प्रहरीको छापा, सम्पादक श्रेष्ठको कार्यकक्ष र समाचारकक्षमा प्रवेश


काठमाडौं, साउन २८ । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ प्रकरणमा प्रहरीले आज बिहानै जनआस्थाको कार्यालयमा छापा मारेको छ ।

कर्मचारीका अनुसार प्रहरी टोली ललितपुरस्थित जनआस्थाको कार्यालयमा पुगेर सम्पादक श्रेष्ठको कार्यकक्ष र समाचारकक्षमा प्रवेश गरेको हो ।

यसअघि बुधबार राति श्रेष्ठलाई निवासबाट पक्राउ गरेपछि प्रहरीले राति करिब १ बजे उहाँको घरमा समेत छापा मारेको थियो । प्रहरीले घरबाट ल्यापटप, कम्प्युटर तथा मोबाइललगायत विद्युतीय उपकरण नियन्त्रणमा लिएको जनाइएको छ ।

श्रेष्ठको पक्राउ र प्रहरीको छापा विरोधमा नेपाल पत्रकार महासंघलगायत पत्रकारसम्बद्ध संस्थाहरूले आपत्ति जनाउँदै आएका छन् । पत्रकारहरूले समाचार प्रकाशनसम्बन्धी विषयमा स्थापित कानुनी तथा प्रेससम्बन्धी प्रक्रियाबाट समाधान खोज्नुपर्ने बताउँदै आएका छन् ।