काठमाडौं, साउन २९ । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ परेपछि प्रहरीले आज बिहान जनआस्था साप्ताहिकको कार्यालयमा छापा मारेको छ।
जनआस्थाका कर्मचारीका अनुसार कार्यालयमा पुगेको प्रहरी टोलीले सम्पादक श्रेष्ठको कार्यकक्ष र समाचार कक्षमा छापा मारेको थियो। प्रहरीले कार्यालयमा के–कस्ता सामग्री खोजेको वा बरामद गरेको भन्नेबारे भने खुलाइएको छैन।
यसअघि प्रहरीले श्रेष्ठलाई बुधबार राति उहाँकै निवासबाट पक्राउ गरेको थियो। त्यसपछि राति करिब १ बजे पुनः प्रहरी टोली उहाँको घरमा पुगेर छापा मारेको थियो।
नेपाल पत्रकार महासंघलगायत पत्रकारसम्बद्ध संघसंस्थाले श्रेष्ठको पक्राउको विरोध गर्दै मध्यरातिदेखि नै प्रहरी कार्यालयमा धर्ना दिएका थिए। पत्रकारहरूले आज पनि धर्नालाई निरन्तरता दिएका छन्।
यसैबीच, नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्माले श्रेष्ठ पक्राउ परेपछि उहाँले समाचारका लागि सूचना प्राप्त गर्ने स्रोत पहिचान गर्न प्रयोग गर्दै आएका विद्युतीय सामग्रीसमेत प्रहरीले नियन्त्रणमा लिएको बताउनुभएको छ।
अध्यक्ष शर्माका अनुसार श्रेष्ठको घरबाट ल्यापटप, कम्प्युटर, मोबाइल तथा इमेलमा पहुँच पुग्ने सामग्री जफत गरिएको छ। यस्ता सामग्री नियन्त्रणमा लिएर राज्यले श्रेष्ठका सूचना स्रोतसम्म अनधिकृत पहुँच प्राप्त गर्न खोजेको उहाँको आरोप छ। ‘यो असंवैधानिक र गैरकानुनी कदम हो, यसको जति भर्त्सना गरे पनि पुग्दैन,’ अध्यक्ष शर्माले भन्नुभएको छ।
महासंघले पत्रकारको सूचना स्रोतको गोपनीयता तथा प्रेस स्वतन्त्रताको संरक्षण गर्नुपर्ने भन्दै श्रेष्ठको पक्राउ र विद्युतीय सामग्री नियन्त्रणमा लिएको घटनाप्रति आपत्ति जनाएको छ।













प्रतिक्रिया दिनुहोस्