जनता टाइम्स

२८ श्रावण २०८३, बिहीबार ११:२०

किशोर श्रेष्ठको रिहाइ माग गर्दै लालटिन बोकेर पत्रकारको प्रदर्शन


काठमाडौं, साउन २८ पत्रकार किशोर श्रेष्ठलाई निःशर्त रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघले काठमाडौं प्रहरी परिसरअगाडि प्रदर्शन तथा धर्ना दिएको छ ।

महासंघकी अध्यक्ष निर्मला शर्माको नेतृत्वमा भएको प्रदर्शनमा पत्रकारहरूले कालोपट्टी बाँधेर प्रेस स्वतन्त्रताको पक्षमा नाराबाजी गरेका थिए । शान्तिपूर्ण धर्नामा बस्न प्रहरीले रोक लगाएपछि केहीबेर प्रहरी र पत्रकारबीच घम्साघम्सीसमेत भएको जनाइएको छ ।

प्रदर्शनकारीले ‘प्रहरी दमन मुर्दावाद’, ‘राज्य आतंक बन्द गर’, ‘प्रेस स्वतन्त्रता पुनर्बहाली गर’ र ‘किशोर श्रेष्ठलाई निःशर्त रिहा गर’ लगायतका नारा लगाएका थिए । केही पत्रकारले बलिरहेको लालटिन बोकेर प्रदर्शन गरेका थिए ।

श्रेष्ठलाई वैयक्तिक गोपनीयतासम्बन्धी कसुरको आरोपमा बुधबार प्रहरीले पक्राउ गरेको हो । यसैबीच, प्रहरीले आज बिहान जनआस्था साप्ताहिकको कार्यालयमा समेत खानतलासी गरेको छ ।