जनता टाइम्स

२८ श्रावण २०८३, बिहीबार ११:२८

रोल्पा पहिरो अपडेट : मृतकको संख्या ३ पुग्यो, ९ जना बेपत्ता


रोल्पा, साउन २८ रोल्पाको थबाङ गाउँपालिका–५ बोटलबारा पहिरोमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ । घटनामा नौ जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार बुधबार राति करिब ८ः४० बजे घरमाथिबाट खसेको पहिरोले कमलबहादुर पुनमगरसहित ६ वटा घर तथा गोठ पुरिएका थिए ।

पहिरोमा परी थबाङ–५ का ६० वर्षीय कमलबहादुर पुनमगर, १८ वर्षीय शान्ती पुनमगर र ७१ वर्षीया मनरखी पुनमगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा २२ वर्षीय हिमाल पुनमगर र २५ वर्षीय संजय घर्तीमगर घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि बाहिर लैजाने तयारी भइरहेको छ ।

बेपत्ता हुनेमा ४० वर्षीया जुनकुमारी पुनमगर, ९ वर्षीय अशिम पुनमगर, ६ वर्षीय अशोक पुनमगर, ७५ वर्षीय डलबहादुर पुनमगर, ८० वर्षीय अजम्बर पुनमगर, ७८ वर्षीय बलबहादुर पुनमगर, ७२ वर्षीय लिलबहादुर पुनमगर, ७१ वर्षीया मनी पुनमगर र ६७ वर्षीया हस्तकला रोकामगर रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक पञ्चकुमार बाखुले सुरुमा १० जना बेपत्ता भएकोमा एक जनाको शव फेला परेको जानकारी दिनुभयो । उहाँका अनुसार अन्य नौ जनाको खोजी तथा उद्धार कार्य जारी छ ।

प्रहरी र स्थानीयवासीको टोलीले पहिरो प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी राखेको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।