जनता टाइम्स

२८ श्रावण २०८३, बिहीबार १२:११

सरकारलाई प्रश्न गर्नु, सत्ताका गतिविधिमाथि निगरानी गर्नु र समाचार प्रकाशित गर्नु पत्रकारको अपराध होइन : प्रेस चाैतारी नेपाल 


काठमाडौं, साउन २८। प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गरिएको तथा त्यसपछि जनआस्था सञ्चारगृहमा प्रहरी प्रवेश गरी खानतलासी गर्दै सञ्चार सामग्री नियन्त्रणमा लिइएको घटनाप्रति प्रेस चौतारी नेपालले गम्भीर आपत्ति जनाएको छ।

प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले विज्ञप्ति जारी गर्दै जनआस्था साप्ताहिक तथा जनआस्था डटकममा प्रकाशित समाचारलाई आधार बनाएर पत्रकार श्रेष्ठलाई पक्राउ गर्नु अत्यन्त आपत्तिजनक, अलोकतान्त्रिक र स्वतन्त्र प्रेसमाथिको प्रत्यक्ष हस्तक्षेप भएको बताउनुभएको छ।

समाचारप्रति असहमति भए कानुनी उपचारका स्थापित बाटा हुँदाहुँदै पत्रकारलाई पक्राउ गर्ने तथा सञ्चारगृहमा प्रहरी पठाएर खानतलासी गर्ने कार्यले राज्यशक्तिको चरम दुरुपयोग भएको प्रेस चौतारी नेपालको ठहर छ।

पत्रकार श्रेष्ठले आफूमाथि लगाइएका आरोपको निष्पक्ष छानबिनको माग गरिरहेका बेला उल्टै पक्राउ गर्नु, निगरानी तथा दबाब बढाउनुबाट सरकारको व्यवहार र न्यायिक प्रक्रियाको निष्पक्षतामाथि गम्भीर प्रश्न उठेको विज्ञप्तिमा उल्लेख छ। “सरकारलाई प्रश्न गर्नु, सत्ताका गतिविधिमाथि निगरानी गर्नु र समाचार प्रकाशित गर्नु पत्रकारको अपराध होइन,” विज्ञप्तिमा भनिएको छ।

सञ्चारगृहमा प्रहरी प्रवेश गराई कम्प्युटर, इलेक्ट्रोनिक उपकरण, कागजात तथा इमेललगायतका सामग्री नियन्त्रणमा लिइएको घटनाले पत्रकारको व्यावसायिक स्वतन्त्रता, समाचार स्रोतको गोपनीयता र प्रेसको संवैधानिक अधिकारमाथि गम्भीर असर पार्न सक्ने प्रेस चौतारी नेपालको भनाइ छ।

श्रेष्ठमाथि भएको हस्तक्षेपलाई सामान्य रूपमा लिए भोलि जुनसुकै पत्रकार तथा सञ्चारमाध्यम निशानामा पर्न सक्ने भन्दै प्रेस चौतारी नेपालले यो विषय एक जना पत्रकारमा मात्र सीमित नभई समग्र नेपाली प्रेस, अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक अधिकारसँग जोडिएको गम्भीर विषय भएको जनाएको छ।

प्रेस चौतारी नेपालले सम्पूर्ण घटनाको स्वतन्त्र, निष्पक्ष तथा उच्चस्तरीय छानबिन गरी दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याई कारबाही गर्न सरकारसँग माग गरेको छ। साथै, पत्रकार श्रेष्ठको पक्राउको कानुनी आधार, सञ्चारगृहमा गरिएको खानतलासीको औचित्य तथा नियन्त्रणमा लिइएका सञ्चार सामग्रीबारे तत्काल स्पष्ट जानकारी सार्वजनिक गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ।

संविधानले प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र श्रमजीवी पत्रकारको अधिकारका लागि आवश्यक सबै लोकतान्त्रिक तथा कानुनी संघर्षमा दृढतापूर्वक उभिने प्रतिबद्धतासमेत प्रेस चौतारी नेपालले व्यक्त गरेको छ।