काठमाडौं, साउन २८। प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेले पत्रकार किशोर श्रेष्ठलाई भेट्न तथा उहाँको अवस्थाबारे जानकारी लिन पुगेका आफू लगायत पत्रकारहरूमाथि प्रहरीले बल प्रयोग गरेको भन्दै गम्भीर आपत्ति जनाउनुभएको छ। उहाँले प्रहरीको लाठी प्रहारबाट आफ्नो घाँटीमा सामान्य चोट लागेको बताउँदै घटनालाई प्रेस स्वतन्त्रतामाथिको गम्भीर हस्तक्षेपका रूपमा लिनुभएको छ।
पत्रकार श्रेष्ठलाई भेट्न शान्तिपूर्ण रूपमा पुगेको बताउँदै अध्यक्ष पाण्डेले आफूहरूमाथि अनावश्यक रूपमा बल प्रयोग गरिएको दाबी गर्नुभएको छ। उहाँले पत्रकारमाथि भइरहेको व्यवहारप्रति राज्य गम्भीर बन्नुपर्ने र लोकतान्त्रिक व्यवस्थामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि कुनै पनि प्रकारको हस्तक्षेप स्वीकार्य नहुने स्पष्ट पार्नुभएको छ।
अध्यक्ष पाण्डेल प्रेस चौतारी नेपाल आज कुनै व्यक्ति विशेषको पक्षमा उभिएको नभई प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र कानुनी शासनको पक्षमा आवाज उठाउन उभिएको प्रष्ट पार्नु भएको छ । “हामी पत्रकार किशोर श्रेष्ठलाई भेट्न र उहाँको अवस्थाबारे बुझ्न यहाँ आएका हौँ, हामी शान्तिपूर्ण रूपमा आएका थियौँ, तर हामीमाथि बल प्रयोग गरियो,” अध्यक्ष पाण्डेले भन्नुभएको छ।
उहाँले प्रहरीको बल प्रयोगबाट आफूलाई चोट लागेको घटनालाई सामान्य रूपमा नलिने चेतावनीसमेत दिनुभएको छ। पत्रकारमाथि हुने दमन र सञ्चारमाध्यममाथिको हस्तक्षेपविरुद्ध प्रेस चौतारी नेपाल कानुनी तथा लोकतान्त्रिक दुवै बाटोबाट प्रतिवादमा उत्रिने उहाँको भनाइ छ। अध्यक्ष पाण्डेले भन्नुभएको छ, “हामी कानुनी बाटोबाट पनि प्रतिवाद गर्छौँ र सडकबाट पनि शान्तिपूर्ण आन्दोलन जारी राख्छौँ।”
उहाँले पत्रकार श्रेष्ठको पक्राउप्रति असहमति जनाउँदै सरकारसमक्ष तत्काल रिहाइको माग गर्नुभएको छ। उहाँले पत्रकारलाई पक्राउ गरेर तथा प्रेसमाथि दबाब सिर्जना गरेर लोकतान्त्रिक शासन व्यवस्था बलियो हुन नसक्ने स्पष्ट पार्नुभएको छ। प्रेस चौतारी नेपालको माग स्पष्ट रहेको जनाउँदै अध्यक्ष पाण्डेले “पत्रकार किशोर श्रेष्ठलाई बिना सर्त रिहा गर, पत्रकारमाथिको दमन बन्द गर र प्रेस स्वतन्त्रताको रक्षा गर” भन्ने माग अघि सार्नुभएको छ।
पत्रकार श्रेष्ठको रिहाइ तथा प्रेस स्वतन्त्रताको पक्षमा आवश्यक परे शान्तिपूर्ण आन्दोलनलाई थप सशक्त बनाउने बताउँदै उहाँले राज्यले तत्काल आफ्नो व्यवहार सच्याउनुपर्ने बताउनुभएको छ। प्रेस स्वतन्त्रतामाथि हुने कुनै पनि हस्तक्षेपविरुद्ध पत्रकार तथा सञ्चार क्षेत्र एकजुट भएर प्रतिरोधमा उत्रिनुपर्ने उहाँको धारणा छ।
पत्रकार श्रेष्ठलाई प्रहरीले हिजो घरबाट पक्राउ गरेको थियो । साे घटनाको विरोधमा रातिदेखि नै पत्रकारहरू आन्दोलनमा छन् ।













प्रतिक्रिया दिनुहोस्