प्युठान, साउन २८। प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारबाट पाँच जनाको शव फेला परेको छ।
बिहीबार बिहान करिब ७ः३० बजे नगरपालिकाका विभिन्न स्थानमा रहेका माडी र लुङ्ग्री खोलाको किनारमा पहिचान खुल्न नसकेका पाँच जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार स्वर्गद्वारी नगरपालिका–९ जुडापाटास्थित माडी खोलाको किनारमा करिब १२/१३ वर्ष उमेरका बालकको शव फेला परेको छ। त्यस्तै, स्वर्गद्वारी नगरपालिका–३ किमिचौरस्थित माडी खोलाको किनारमा कम्मरभन्दा माथिको भाग मात्र रहेको पुरुषको शव फेला परेको छ।
स्वर्गद्वारी नगरपालिका–४ गोठीबाङस्थित माडी खोलाको किनारमा एक महिलाको शव फेला परेको प्रहरीले जनाएको छ। यस्तै, स्वर्गद्वारी नगरपालिका–५ सरोजास्थित लुङ्ग्री खोलाको किनारमा घुँडादेखि तलको बायाँ खुट्टा नभएको अवस्थामा एक महिलाको शव फेला परेको छ। सोही स्थानमा अर्की महिलाको शवसमेत फेला परेको प्रहरीले जनाएको छ।
फेला परेका पाँचवटै शवको हालसम्म पहिचान हुन सकेको छैन। प्रहरीले शवको पहिचान तथा घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ।
प्रहरीले परिवारका कुनै सदस्य हराइरहेको भए जिल्ला प्रहरी कार्यालय प्युठानमा सम्पर्क गर्न आग्रह गरेको छ। प्रहरीले शव पहिचानका लागि सर्वसाधारणलाई सहयोग गरिदिनसमेत अनुरोध गरेको छ। सम्पर्कका लागि जिल्ला प्रहरी कार्यालय प्युठानका ९८५७८३७०४९ र ९८५७८१५५५५ नम्बरमा सम्पर्क गर्न सकिने प्रहरीले जनाएको छ।
ती शवहरु राेल्पामा गएका पहिराेमा परी बेपत्ता भएकाकाे हुन सक्ने अनुमान गरिएकाे छ । प्रहरीले साे विषयमा पनि अनुसन्धान गरिरहेकाे छ ।













प्रतिक्रिया दिनुहोस्