काठमाडौं, साउन २८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रोल्पाको थवाङ गाउँपालिका–५ मा अविरल वर्षापछि गएको भीषण पहिरोमा परी नागरिक बेपत्ता भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ।
अध्यक्ष ओलीले पहिरोमा परी ११ वटा घर पुरिँदा १३ जना नागरिक बेपत्ता भएको र हालसम्म चार जनाको शव फेला परेको जानकारीले आफूलाई अत्यन्तै मर्माहत बनाएको बताउनुभएको छ।
उहाँले सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुभएको सन्देशमा पार्टीका पूर्व केन्द्रीय सदस्य नवीन रोका मगरकी आमा हस्तमाया रोका मगरसमेत पहिरोमा परी बेपत्ता हुनुभएको उल्लेख गर्नुभएको छ। “यस दुःखद घटनामा पार्टीका पूर्व केन्द्रीय सदस्य नवीन रोका मगरकी आमा हस्तमाया रोका मगर पनि पहिरोमा परी बेपत्ता हुनुभएको छ,” ओलीले उल्लेख गर्नुभएको छ।
पहिरोमा परी ज्यान गुमाउने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै अध्यक्ष ओलीले शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ।
बेपत्ता नागरिकहरूको खोजी तथा उद्धार कार्यलाई तीव्र र तदारुकताका साथ अघि बढाउन सरकार तथा स्थानीय प्रशासनसँग आग्रह गर्दै उहाँले विपत्तिमा परेका परिवारलाई सहयोग र राहत उपलब्ध गराउन एमालेका स्थानीय नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ।
“सरकारले पहिरो प्रभावित परिवारजनको उद्धार, राहत, घाइतेको स्वास्थ्य उपचार र पुनर्वासको अविलम्ब व्यवस्था गरोस्,” ओलीले आग्रह गर्नुभएको छ













प्रतिक्रिया दिनुहोस्