काठमाडौं, साउन २८ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले मुलुकमा पछिल्लो समय देखिएका राजनीतिक तथा सामाजिक गतिविधिप्रति गम्भीर प्रश्न उठाउनुभएको छ।
उहाँले संसद्, न्यायालय, सुरक्षा निकाय, कर्मचारीतन्त्र तथा प्रेसलगायत राज्यका महत्त्वपूर्ण संरचनालाई कमजोर बनाउने प्रयास भइरहेको दाबी गर्नुभएको छ। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै भट्टराईले यस्तो प्रवृत्तिले मुलुकमा सामाजिक अराजकता र राज्यआतंकको अवस्था सिर्जना हुन सक्ने आशङ्का व्यक्त गर्नुभएको हो।
भट्टराईले संसद्लाई बेकम्मा बनाउने, न्यायालयलाई कब्जा गर्ने, सेना र प्रहरीलाई लाचार बनाउने तथा कर्मचारीको हुर्मत लिने प्रयास भइरहेको उल्लेख गर्नुभएको छ। उहाँले प्रेसमाथि सेन्सरसिप लगाउने र आफ्नै तथा अन्य राजनीतिक दललाई किनाराकृत गर्ने प्रयाससमेत भइरहेको बताउनुभएको छ।
त्यस्तै, व्यापारी तथा उद्योगीलाई लखेट्ने, परराष्ट्र सम्बन्धलाई लथालिङ्ग बनाउने र गरिब तथा सुकुम्वासीहरूको उठीबास लगाउने गतिविधि हुन सक्ने भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभएको छ।
उहाँले कानुन र संविधानको धज्जी उडाउने तथा धार्मिक र साम्प्रदायिक द्वन्द्वलाई बढवा दिने गतिविधिप्रति समेत प्रश्न उठाउनुभएको छ । यी सबै गतिविधिलाई जोड्दै भट्टराईले यसबाट नेपाललाई असफल राष्ट्र बनाउने षड्यन्त्र भइरहेको त होइन भन्ने प्रश्न गर्नुभएको छ।
उहाँले सामाजिक सञ्जालमा राख्नुभएको धारणा जस्ताको तस्तै :
“संसद्लाई बेकम्मा बनाउने
न्यायालयलाई कब्जा गर्ने
सेना र प्रहरीलाई लाचार बनाउने
कर्मचारीको हुर्मत लिने
प्रेसमाथि सेन्सरसिप लगाउने
आफ्नै र अरू दललाई किनाराकृत गर्ने
व्यापारी र उद्योगीहरूलाई लखेट्ने
परराष्ट्र सम्बन्धलाई लथालिङ्ग बनाउने
गरिब र सुकुम्वासीहरूको उठीबास लगाउने
कानुन र संविधानको धज्जी उडाउने
धार्मिक र साम्प्रदायिक द्वन्द्वलाई बढवा दिने
यसरी
सामाजिक अराजकता र राज्यआतंक मार्फत नेपाललाई असफल राष्ट्र घोषित गर्ने षडयन्त्र त हुँदैछैन ?”













प्रतिक्रिया दिनुहोस्