जनता टाइम्स

२८ श्रावण २०८३, बिहीबार १४:१५

शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न देश फर्किएको छु : शेरबहादुर देउवा


काठमाडौं, साउन २८ । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्ने उद्देश्यले नभई राष्ट्रिय एकता सुदृढ गर्न सक्रिय हुन नेपाल फर्किएको बताउनुभएको छ।

झण्डै पाँच महिना लामो स्वास्थ्य उपचारपछि आज नेपाल फर्किनुभएका देउवाले देशवासी तथा नेपाली कांग्रेसका नेता–कार्यकर्ताका नाममा अपिल जारी गर्दै आफूलाई स्वास्थ्यलाभको कामना गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्नुभएको छ। उहाँले आफूलाई ‘विनम्र सेवक’का रूपमा प्रस्तुत गर्दै सुन्ने, सिक्ने र समुन्नत मुलुक निर्माणको यात्रामा समर्पित हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

देउवाले नेपाली कांग्रेस लोकतान्त्रिक इतिहास बोकेको दल मात्र नभई दशकौँको राजनीतिक संघर्ष र बलिदानबाट आफ्नो अस्तित्व तथा मर्यादा जोगाउँदै आएको पार्टी भएको उल्लेख गर्नुभएको छ। उहाँले बीपी कोइराला, सुवर्णशमशेर राणा, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालालगायत अग्रज नेताहरूको त्याग र योगदानलाई पार्टीले कहिल्यै बिर्सन नहुने बताउनुभएको छ।

युवा पुस्ताले माग गरेको परिवर्तनलाई नेपाली कांग्रेसले आत्मसात् गर्नुपर्ने उहाँको धारणा छ। विश्व बदलिएको अवस्थामा नेपाली समाज र राजनीति पनि समयको गतिसँगै अघि बढ्नुपर्ने उहाँले बताउनुभएको छ।

गत भदौमा भएको जेनजी आन्दोलनको जायज मागलाई आफूले त्यसबेलै सम्बोधन गर्नुपर्ने धारणा राखेको स्मरण गर्दै देउवाले परिवर्तनको अर्थ विगतका पुस्ताको त्याग, बलिदान र संघर्षलाई अस्वीकार गर्नु नभएको स्पष्ट पार्नुभएको छ।

उहाँले वर्तमान सरकारले जनतामा देखिएको परिवर्तनको आकांक्षालाई सम्बोधन गर्नुपर्ने बताउनुभएको छ। ताजा जनमतबाट उदाएको सत्तारुढ दलले जनताको मतको कदर गर्नुपर्ने उल्लेख गर्दै उहाँले परिवर्तन व्यवस्थापनको प्रक्रियामा सहयोग गर्न कांग्रेस तयार रहेको जनाउनुभएको छ।

देउवाले नेपाली कांग्रेस एकताबद्ध भएर अन्य राजनीतिक दलहरूसँग सहमति र सहकार्य गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ। राष्ट्रियता र लोकतन्त्रको सुदृढीकरणका लागि सबै मिलेर अघि बढ्नुपर्ने भन्दै उहाँले वर्तमान संविधान लामो संघर्ष र बलिदानबाट प्राप्त भएकाले यसको संरक्षण तथा संशोधनसमेत राष्ट्रिय सहमतिका आधारमा गर्नुपर्ने बताउनुभएको छ।

पार्टीभित्र देखिएको असहमति र निराशा तत्काल समाधान गर्नुपर्नेमा जोड दिँदै उहाँले कांग्रेसमा विवाद हुँदा मुलुकको राष्ट्रियता नै कमजोर हुन सक्ने बताउनुभएको छ। कांग्रेस सामूहिकतामा विश्वास गर्ने पार्टी भएकाले सबैको त्याग, बलिदान र संघर्षलाई स्वीकार गरेर अघि बढ्नुपर्ने उहाँको भनाइ छ।

युवा पुस्तालाई अघि बढाउनुपर्ने भए पनि सामाजिक सञ्जालमा लोकप्रियताका लागि पाका तथा अनुभवी पुस्तालाई पूर्ण रूपमा गलत देखाउने प्रवृत्ति उचित नभएको उहाँले बताउनुभएको छ। आफ्नो राजनीतिक अनुभव नयाँ पुस्तालाई हस्तान्तरण गर्नु आफ्नो दायित्व भएको पनि देउवाले उल्लेख गर्नुभएको छ।

पार्टीका नेता–कार्यकर्ता निराश रहेको अवस्थामा उनीहरूको मनोबल बढाउन र पार्टीभित्रका भावनालाई पुनः जोड्ने समय आएको बताउँदै देउवाले सम्पूर्ण नेता तथा कार्यकर्तालाई त्यस दिशामा लाग्न अपिल गर्नुभएको छ।

उहाँले विगतमा माओवादी सशस्त्र द्वन्द्वलगायत मुलुकका जटिल राजनीतिक घटनाक्रम तथा नेपाली कांग्रेसभित्रका विवादमा मिलाप गराएको अनुभव रहेको उल्लेख गर्दै आगामी दिनमा आफ्नो अनुभव नयाँ पुस्तालाई हस्तान्तरण गर्ने बताउनुभएको छ।

आत्मसमीक्षा र मार्ग सुधारप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै देउवाले कांग्रेस कतै विचलित भएको भए सुधार गर्ने र कमजोरी भए पुनः उठ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

राष्ट्रिय एकतामा जोड दिँदै उहाँले विगतका विभाजन र विद्वेषका घाउ निको पार्न तथा प्रतिशोधको सट्टा मेलमिलापको बाटो रोज्न आग्रह गर्नुभएको छ।

देउवाले आफूले जीवनभर राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, नागरिक, संविधान र कानुनलाई सर्वोपरि मानेर काम गरेको दाबी गर्दै कानुन र नीतिविपरीत कुनै काम नगरेको बताउनुभएको छ। उहाँले आफ्नो जीवन खुला किताब भएको उल्लेख गर्दै आगामी दिनमा पनि राष्ट्र र जनताको सर्वोत्तम हित, संविधान, कानुन तथा नैतिक मूल्य–मान्यताअनुसार काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ।

उहाँको अपिलको अन्त्यमा भनिएको छ, “म नेता बनेर होइन, यस महान् राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको छु-विनम्रता, समर्पण र प्रेमका साथ सेवा गर्न तत्पर, शेरबहादुर देउवा।”

देउवाले आफ्नो अपिलमा उल्लेख गर्नुभएको पूर्ण धारणा यस्तो छ :

“प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू,

झण्डै पाँच महिना लामो स्वास्थ्य उपचार सकेर म पुनः यस पुण्यभूमिको काखमा उपस्थित हुन पाउँदा मेरो हृदय गहिरो भावनाले भरिएको छ। हिमालका शिखर, पहाडका हरियाली हराभरा र तराईका विशाल मैदानहरूले मलाई पुनः आफ्नै घरतर्फ बोलाएका छन्। सर्वप्रथम मेरो स्वास्थ्यबारे चासो, चिन्ता राख्ने र स्वास्थ्यलाभको कामना गर्नुहुने सबैमा हार्दिक धन्यवाद दिन चाहन्छु।

म आज यहाँ विनम्र सेवकका रूपमा उपस्थित भएको छु—सुन्न, सिक्न र समुन्नत मुलुक बनाउने यात्रामा समर्पित हुन। कृतज्ञताले परिपूर्ण हृदय र परिवर्तनका समीरलाई आत्मसात् गर्न तत्पर खुला चेतनासहित स्वास्थ्य उपचार सकेर म तपाईँहरूमाझ पाँच महिनापछि फर्किएको छु।

आज आफ्ना अनुभूति र अनुभवका गहिराइबाट केही विचारहरू साझा गर्न चाहन्छु।

१. म हाम्रो साझा राष्ट्रिय दायित्वप्रति गहिरो सम्मान व्यक्त गर्दै फर्किएको छु। नेपाली कांग्रेस केवल लोकतान्त्रिक इतिहास बोकेको दल मात्र होइन; यो दशकौँको राजनीतिक संघर्ष सहेर आफ्नो अस्तित्व र मर्यादा जोगाइराख्न सफल पार्टी पनि हो। हामीले यस राष्ट्रको स्वतन्त्रता र लोकतन्त्रका लागि रगत बगाएका छौँ। नेपाली कांग्रेसको यो लामो सङ्घर्षपूर्ण यात्रामा एउटा यात्रीका रूपमा विभिन्न कालखण्डमा सहभागी हुन पाएकोमा म आफूलाई गर्व अनुभूत गर्दछु।

२०२० सालदेखि निरन्तर राजनीतिका दुःख, सुख र सङ्घर्षपूर्ण दिनहरू अझै पनि मेरो मानसपटलमा ताजा छन्। अहिले मुलुकले उपभोग गरेको स्वतन्त्रता, लोकतन्त्र र विकासमा कहीँ न कहीँ सहभागी हुन पाएकोमा म उच्च गर्व गर्दछु।

विगतमा हाम्रा नेताहरू बीपी कोइराला, सुवर्णशमशेर राणा, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालालगायत हाम्रा अग्रजहरूको त्याग र योगदान हामीले कहिल्यै भुल्नु हुँदैन। त्यो विरासत गौरवको पदक होइन, जनताको विश्वासका रूपमा हामीले वहन गरिरहेको पवित्र जिम्मेवारी हो।

२. मैले हाम्रो युवा पुस्ताको मौन पीडा र प्रखर आवाज दुवै सुनेको छु। म स्पष्ट रूपमा भन्न चाहन्छु—नेपाली कांग्रेसले युवा पुस्ताले माग गरेको परिवर्तनलाई आत्मसात् गरेको छ। विश्व बदलिएको छ, र हामी पनि समयको गतिसँगै अघि बढ्नुपर्छ भन्ने सत्यलाई हामी स्वीकार गर्छौँ। मैले समाजका सबै वर्ग, सबै समुदाय र सबै पुस्ताको सार्थक सहभागिता सुनिश्चित गर्ने काममै नेतृत्व गरेँ, किनकि भविष्य ती हातहरूको हो जसले राष्ट्र निर्माण गर्नेछन्।

यसैले भौतिक पीडा सहँदासहँदै पनि गत भदौमा भएको जेनजी आन्दोलनको जायज मागलाई मैले सम्बोधन गर्नुपर्ने धारणा त्यतिबेला नै राखेको थिएँ।

परिवर्तनको अर्थ विगत खराब थियो, हाम्रा पुस्ताको त्याग, बलिदान र संघर्ष खराब थियो भन्ने होइन। हाम्रो पुस्ताले लामो समय लोकतन्त्र, स्वतन्त्रता, विभिन्न जातजाति, क्षेत्र, समुदायको अधिकारका लागि लड्नुपर्‍यो। मुलुकमा पद्धति बनाउन समय खर्चिनुपर्‍यो।

विगतका यी ऐतिहासिक कामलाई नकारात्मकता फैलाउने भाष्य कोही पनि सच्चा नागरिकका लागि स्वीकार्य हुँदैन। केही कमी कमजोरी भए होलान्, तर त्यसलाई स्वीकार गर्दै समुन्नत मुलुक निर्माणमा सबै पक्षको हातेमालो हुन आवश्यक छ। लोकतन्त्रमा सत्ता अस्थायी हुन्छ तर जनताको मन बुझ्ने नेता मात्रै सदा स्मरणीय हुन्छ।

हामी हाम्रो राजनीतिक यथार्थको जटिलतालाई इमानदारीपूर्वक स्वीकार गर्छौँ। म कुनै बहाना प्रस्तुत गर्दिनँ, केवल सत्य स्वीकार गर्दछु। हामी जनताको इच्छालाई सर्वोच्च मान्दै, प्रत्येक जनादेश र लोकतन्त्रलाई दिशा दिने प्रत्येक आवाजको सम्मान गर्दै अघि बढ्नेछौँ।

३. परिवर्तन सजिलो हुँदैन भन्ने कुरा म राम्ररी जान्दछु। परिवर्तनको बाटो कहिल्यै समतल हुँदैन; यसले धैर्य, साहस र दृढताको परीक्षा लिन्छ। जनतामा अहिले परिवर्तनको ठुलो आकाङ्क्षा देखिएको छ। त्यसलाई सम्बोधन गर्नुपर्ने वर्तमान सरकारको दायित्व हो। आफ्नो दायित्व भुलेर राजनीतिक आग्रह पूर्वाग्रह साँधेर भने त्यो सत्तारुढ दल र मुलुककै लागि हितकर हुँदैन। त्यसैले जनताको आकाङ्क्षा पूरा गर्ने बाटोमा सरकार अघि बढ्नुपर्छ। ताजा जनमतबाट उदाएको सत्तारुढ दलले जनताको मतलाई कदर गर्न सकेन भने लोकतन्त्रमा जनतानै जनार्दन हुन् भन्ने विषय कसैले बदल्न सक्दैन।

त्यसैले हामी परिवर्तन व्यवस्थापन प्रक्रियामा सहयोग गर्न तयार छौँ। हामी अन्धाधुन्ध दौडिने छैनौँ; विवेक, पारदर्शिता र न्यायका आधारमा प्रत्येक रूपान्तरणलाई अघि बढाउनेछौँ।

४. नेपाली कांग्रेसले आफू एकताबद्ध भएर देशका क्रियाशील अन्य सबै राजनीतिक दलहरूसँग समेत सहमति र सहकार्य गरेर जानुपर्ने आजको आवश्यकता हो। सबै मिलेर देशको राष्ट्रियता, लोकतन्त्रको सुदृढीकरण गर्नुपर्नेछ। वर्तमान संविधान नेपालीको लामो संघर्ष र बलिदानबाट प्राप्त भएको हो। यसको संरक्षण गर्ने र संशोधन गर्दा पनि राष्ट्रिय सहमतिका आधारमा गर्नुपर्दछ।

अंकगणितीय रूपमा संसदमा नेपाली कांग्रेस सानो–ठुलो भयो होला, तर २००७ सालदेखि नेपाली राजनीतिक परिवर्तनको हरेक खुड्किलोको नेतृत्वकर्ता हो—कांग्रेस। अहिले नेपाली कांग्रेसमा देखिएको असहमति र निराशा तुरुन्तै समाधान हुनुपर्छ। मुलुककै मियो दलमा विवाद हुँदा मुलुकको राष्ट्रियता नै कमजोर हुन सक्छ।

तसर्थ आम नेपाली कांग्रेसका नेता, कार्यकर्ता, शुभेच्छुक, समर्थक, मतदातालगायत आमनेपाली जनतामा कांग्रेस सामूहिकतामा विश्वास गर्ने पार्टी हो, सोही नीतिअनुसार सबैको त्याग, बलिदान र संघर्षलाई स्वीकार गरेर अघि बढ्न म अपिल गर्न चाहन्छु। नेपाली कांग्रेस कसैको होइन, जनताको सर्वोपरि हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्छ।

युवा साथीहरू अघि बढ्नुपर्छ तर त्यसको मतलब पाका र अनुभवी जति सबै खराब हुन् भन्ने गलत भाष्य र सामाजिक सञ्जालमा भ्युजको पछाडि भन्दा पनि नेपाली कांग्रेसको दायित्व नबिर्सन आम नेता कार्यकर्ताहरूमा अनुरोध गर्न चाहन्छु।

मैले राजनीतिक रूपमा लिनुपर्ने केही छैन तर मेरो विगतको अनुभव मुलुक र पार्टीले लिन सक्नु पर्छ र त्यो अनुभव नयाँ पुस्तालाई सेयर गर्नु मेरो दायित्व पनि हो।

नेपाली कांग्रेसप्रतिको मेरो अटुट विश्वास र माया कहिल्यै कम हुने छैन। पार्टीका साथीहरू अहिले निराश भएको अवस्था छ। उनीहरूको मनोबल बढ्ने गरी पार्टीभित्रका साथीहरूको भावनालाई पुनः एक पटक जोड्नुपर्ने समय आएको छ। त्यस कार्यमा लाग्न म सम्पूर्ण नेता तथा कार्यकर्ताहरूलाई अपिल पनि गर्न चाहन्छु।

विगतमा माओवादीको सशस्त्र संघर्ष, मुलुकका जटिल राजनीतिक घटनाक्रमहरूका साथै नेपाली कांग्रेसभित्रका विवादहरूमा मिलाप गराएको मेरो अनुभव छ। मलाई विश्वास छ त्यो अनुभव आगामी दिनहरूमा म नयाँ पुस्तालाई हस्तान्तरण गर्ने नै छु।

हामी आत्मसमीक्षा र मार्ग सुधारप्रति प्रतिबद्ध छौँ। यदि हामी कतै विचलित भएका छौँ भने सुधार गर्नेछौँ; यदि कतै चुकेका छौँ भने पुनः उठ्नेछौँ। हाम्रो यात्रा निरन्तर सुधारको यात्रा हुनेछ, जसलाई तराईदेखि हिमालसम्मका प्रत्येक नागरिकको सुझाव, अपेक्षा र आकांक्षाले मार्गदर्शन गर्नेछ।

अन्तमा,

म शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको छु। २०३३ सालमा बीपी कोइराला भारत निर्वासनबाट नेपाल फर्कंदा सबै राष्ट्रवादी र प्रजातन्त्रवादी शक्तिहरू एक हुनुपर्ने समय आएको उद्घोष गर्नुभएको थियो। मलाई लाग्छ फेरि ४७ वर्षपछि हाम्रो राष्ट्रिय एकतालाई मजबुत गर्न सर्वपक्षीय राष्ट्रिय एकताको आवश्यकता देखिएको छ।

आउनुहोस्, विगतका विभाजन र विद्वेषका घाउहरू निको पारौँ। प्रतिशोध होइन, मेलमिलापको मार्ग रोजौँ। यस्तो नेपाल निर्माण गरौँ जहाँ प्रत्येक बालकले निर्भीक सपनाहरू देख्न सकोस्, प्रत्येक ज्येष्ठ नागरिकले सम्मानपूर्वक विश्राम गर्न पाओस् र प्रत्येक समुदाय समृद्धि तथा अवसरका साथ फस्टाउन सकोस्।

सार्वजनिक जीवनमा पदमा बसेर काम गर्दै जाँदा विभिन्न आलोचना, प्रत्यालोचनाहरू हुने गर्दछन्। मैले सधैँ भन्ने गरेको छु—मैले जीवनमा राष्ट्र, लोकतन्त्र, नागरिक, संविधान र कानुनलाई सर्वोपरि मानी काम गरेको छु। कानुन र नीतिविपरीत कुनै काम गरेको छैन। मेरो जीवन खुला किताब हो। म प्रतिज्ञा गर्दछु, अझ पनि जीवन रहँदासम्म राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, मुलुक र जनताको सर्वोत्तम हित, संविधान, कानुन र नैतिकता, मूल्य मान्यताअनुरूप काम गर्नेछु र यी विषयमा कुनै कसैसँग मेरो सम्झौता हुन सक्दैन।

म नेता बनेर होइन, यस महान् राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको छु—विनम्रता, समर्पण र प्रेमका साथ सेवा गर्न तत्पर।

जय नेपाल।

शेरबहादुर देउवा
२०८३ साउन २८ गते