काठमाडौं, साउन २८ । नेकपा एमालेका बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले आफ्नो स्वास्थ्यमा क्रमिक सुधार भइरहेको जनाउँदै स्वास्थ्यलाभपछि पार्टीलाई थप सुदृढ, एकताबद्ध र प्रभावकारी बनाउन सक्रिय हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
स्वास्थ्य अवस्थासम्बन्धी विभिन्न समाचार, टिप्पणी तथा सामाजिक सञ्जालमा प्रवाहित सामग्रीप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै थपलियाले स्वास्थ्य अवस्थाका विषयमा अपूर्ण सूचना, अनुमान तथा अतिरञ्जित व्याख्याले आम जनसमुदायमा भ्रम सिर्जना हुन सक्ने भन्दै आफ्नो अवस्थाबारे स्पष्ट पार्न विज्ञप्तिमार्फत जानकारी दिनुभएको हो।
उहाँका अनुसार गत साउन १९ गते बागमती प्रदेशको समसामयिक राजनीतिक विषयमा केन्द्रित छलफलमा सहभागी भएका बेला एक्कासि रक्तचाप र मधुमेहमा असन्तुलन उत्पन्न भई स्वास्थ्यमा गम्भीर जटिलता देखिएको थियो। त्यसपछि चिकित्सकहरूको सल्लाहअनुसार थप परीक्षण तथा उपचारका लागि उहाँ ८ दिन अस्पतालमा भर्ना भएर उपचार गराउनुभएकाे थियाे ।
अस्पतालमा उपचारका क्रममा चिकित्सकहरूको निरन्तर निगरानी, स्वास्थ्य परीक्षण तथा आवश्यक उपचारपछि उहाँको स्वास्थ्य अवस्थामा क्रमिक सुधार आएको विज्ञप्तिमा उल्लेख छ।
थपलियाले उपचारमा संलग्न चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरूको अथक प्रयास र निरन्तर सहयोगप्रति विशेष आभार व्यक्त गर्नुभएको छ। उहाँले अस्पतालमा उपचारका क्रममा आफूलाई भेट्न आउनुभएका पार्टीका सम्माननीय नेतागण, सहकर्मी तथा कार्यकर्ता, आफन्तजन र शुभेच्छुकहरूप्रति पनि धन्यवाद व्यक्त गर्नुभएको छ।
अस्पतालबाट घर फर्किएपछि समेत आफ्नो स्वास्थ्य अवस्थाप्रति निरन्तर चासो राख्दै भेट्न आउने तथा विभिन्न माध्यमबाट स्वास्थ्यलाभको कामना गर्ने सबैप्रति उहाँले आभार व्यक्त गर्नुभएको छ। उहाँले त्यस्ता आत्मीयता र सद्भावले आफूलाई थप मानसिक बल प्रदान गरेको बताउनुभएको छ।
थपलियाले आफू हाल स्वास्थ्यमा सुधार भए पनि अझै पूर्ण रूपमा स्वस्थ भइनसकेको स्पष्ट पार्नुभएको छ। चिकित्सकहरूको सल्लाहअनुसार केही समय नियमित औषधि सेवन, पर्याप्त आराम तथा स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने भएकाले सार्वजनिक गतिविधिमा सीमित रही स्वास्थ्यलाई प्राथमिकता दिने उहाँले बताउनुभएको छ।
साथै, उहाँले आफ्नो स्वास्थ्य अवस्था तथा राजनीतिक जिम्मेवारीसँग सम्बन्धित विषयमा सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आउने अपूर्ण, गलत वा अतिरञ्जित सूचना तथा समाचारलाई आधार बनाएर कुनै निष्कर्षमा नपुग्न सबैमा आग्रह गर्नुभएको छ।
स्वास्थ्यलाभपछि अझ बढी ऊर्जा र प्रतिबद्धताका साथ नेकपा एमालेको बागमती प्रदेशमा थप सुदृढ, एकताबद्ध र प्रभावकारी भूमिका निर्माण गर्दै राष्ट्रियस्तरमा पार्टीको भूमिका अझ बलियो बनाउन आफ्नो जिम्मेवारीमा निरन्तर समर्पित रहने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको छ। विज्ञप्तिको उहाँले “स्वास्थ्यलाभपछि अझ बढी ऊर्जा र प्रतिबद्धताका साथ नेपाल कम्युनिष्ट पार्टी (एमाले) लाई बागमती प्रदेशमा थप सुदृढ, एकताबद्ध र प्रभावकारी बनाउँदै राष्ट्रिय स्तरमा पार्टीको भूमिका अझ बलियो बनाउन आफ्नो जिम्मेवारीमा निरन्तर समर्पित रहने प्रतिबद्धता व्यक्त गर्दछु” भन्नुभएको छ।
यस अघि प्रदेश सरकार गठनकाे विषयमा पार्टी अध्यक्ष केपी शर्मा ओलीकाे निवासमा छलफल गरिरहेकाे बेला असजिलाे भए पछि उहाँले अस्पताल भर्ना हुनु भएकाे थियाे । थपलियाले वीर अस्पतालमा उपचार गराउनु भएकाे थियाे ।
वाग्मती प्रदेश पार्टी संसदीय दलकाे नेता थपलियाकाे सट्टा किरण थापा मगरलाई बनाउन १६ जना प्रदेश सभा सदस्यहरुले हस्ताक्षर बुझाइ सक्नु भएकाे छ । वाग्मती प्रदेश सभामा एमालेका २५ जना सांसद छन् ।













प्रतिक्रिया दिनुहोस्