काठमाडौं, साउन २८। प्रेस काउन्सिल नेपालले आस्था मिडियाका अध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई बुधबार राति पक्राउ गरी उहाँको निजी निवास खानतलासी गरिएको तथा बिहीबार बिहान सञ्चारमाध्यमको कार्यालयमा हातहतियारसहित प्रवेश गरी कम्प्युटरलगायत सामग्री जफत गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
काउन्सिलले सञ्चार माध्यम तथा पत्रकारले व्यावसायिक आचारसंहिता उल्लङ्घन गरेको अवस्थामा काउन्सिलमा उजुरी गर्न सकिने जनाएको छ। काउन्सिलले पत्रकारिता क्षेत्रको मर्यादा, प्रेस स्वतन्त्रता र सञ्चारकर्मीको व्यावसायिक आचरण कायम राख्न आफू प्रतिबद्ध रहेको स्पष्ट पारेको छ।
काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत दीपक ज्ञवालीद्वारा जारी प्रेस विज्ञप्तिमा पत्रकार आचारसंहिता उल्लंघनसम्बन्धी उजुरीको छानबिन गरी आवश्यक कारबाहीका लागि सम्बन्धित निकायलाई निर्देशन दिने कानुनी व्यवस्था रहेको उल्लेख गरिएको छ।
प्रेस स्वतन्त्रताको दुरुपयोग हुन नदिन आफूले क्षेत्राधिकारभित्र रहेर पत्रकार तथा सञ्चारमाध्यमको अनुगमन गर्दै आएको जनाउँदै काउन्सिलले कुनै समाचारको विषयमा चित्त नबुझेमा सम्बन्धित पक्षलाई काउन्सिलमा उजुरी दिनसमेत अनुरोध गरेको छ।
काउन्सिलका अनुसार आचारसंहिता पालना तथा प्रेस स्वतन्त्रताको सदुपयोग गर्न लगाउने, खण्डन प्रकाशन/प्रसारण तथा भुल सुधार र क्षमा याचनाका लागि निर्देशन दिने, ध्यानाकर्षण वा सचेत गराउने लगायतका कार्य गर्दै आएको छ। त्यस्तै, लोककल्याणकारी विज्ञापनलगायत अन्य सुविधाबाट वञ्चित गर्ने, सूचीकरणबाट हटाउने तथा प्रेस प्रतिनिधि प्रमाणपत्र वा प्रेस पास निलम्बन गर्न सम्बन्धित निकायलाई निर्देशन दिन सक्ने व्यवस्था रहेको काउन्सिलले जनाएको छ।
सरकारी वा अन्य कुनै प्रकारका विज्ञापन वा सुविधा निश्चित अवधिका लागि उपलब्ध नगराउन सम्बन्धित निकायलाई सिफारिस गर्ने, सरकारी भ्रमणमा राज्यको तर्फबाट सहभागी नगराउन सिफारिस गर्ने लगायतका अधिकारसमेत काउन्सिलसँग रहेको विज्ञप्तिमा उल्लेख छ। आचारसंहिता उल्लङ्घन गर्ने पत्रकार तथा सञ्चारमाध्यमलाई काउन्सिलले आवश्यकताअनुसार कारबाही, अवज्ञाकारी वा कालोसूचीमा राख्ने तथा पटक–पटक गरिएको कारबाहीको विवरण सार्वजनिक गर्ने प्रक्रिया अघि बढाउँदै आएको जनाएको छ।
काउन्सिलले नागरिकको सूचनाको हकको प्रत्याभूति प्रेस स्वतन्त्रतामार्फत हुने भएकाले प्रेसको मर्यादा कायम राख्नु सबैको कर्तव्य भएको स्मरण गराएको छ। साथै, प्रेस स्वतन्त्रताको दुरुपयोग र सम्मान हुन नदिने विषयमा पत्रकार तथा सञ्चारकर्मीसमेत सचेत हुनुपर्नेमा जोड दिएको छ।
सत्य, तथ्य र सन्तुलित एवं विश्वसनीय पत्रकारितामार्फत सञ्चारकर्मीले आफ्नो व्यावसायिक अभ्यासलाई उच्च, मर्यादित, जवाफदेही र उत्तरदायी बनाउनुपर्ने काउन्सिलको भनाइ छ।













प्रतिक्रिया दिनुहोस्