जनता टाइम्स

२८ श्रावण २०८३, बिहीबार १९:४५

रोल्पाको पहिरोमा मृत्यु हुनेको संख्या ७ पुग्यो, ५ जना अझै बेपत्ता


काठमाडौं, २८ साउन । रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ७ पुगेको छ । घटनामा ५ जना अझै बेपत्ता छन् ।

सशस्त्र प्रहरीका अनुसार पहिरोमा परी मृत्यु हुनेमा १८ वर्षीया शान्ति पुनमगर, ६५ वर्षीय कमलबहादुर पुनमगर, ४० वर्षीया जुनकुमारी पुनमगर, ९ वर्षीय अशिम पुनमगर, ६ वर्षीय अशोक पुनमगर, ७५ वर्षीय दलबहादुर पुनमगर र ७१ वर्षीया मनरखी पुनमगर रहेका छन् ।

मृतकमध्ये एक महिला र दुई पुरुषको शव प्यूठानको स्वर्गद्वारी नगरपालिका तथा माण्डवी गाउँपालिका क्षेत्रमा पर्ने माडी खोलाको किनारमा फेला परेको प्रहरीले जनाएको छ ।

पहिरोमा परी ८० वर्षीय अजम्बर पुनमगर, ७८ वर्षीय बलबहादुर पुनमगर, ७२ वर्षीय लीलबहादुर पुनमगर, ७१ वर्षीया मनि पुनमगर र ६७ वर्षीया हस्तकला पुनमगर अझै बेपत्ता छन् ।

घटनामा घाइते भएका २२ वर्षीय हिमाल पुनमगर र २५ वर्षीय सञ्जय घर्तीमगरलाई थबाङ स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि थप उपचारका लागि बुटवल पठाइएको छ ।

बेपत्ताको खोजी तथा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

लगातार वर्षा र पहिरोको जोखिमबीच बेपत्ताको खोजी तथा उद्धार कार्य जारी छ ।