जनता टाइम्स

२८ श्रावण २०८३, बिहीबार १९:४४

किशोर श्रेष्ठको गिरफ्तारीप्रति कांग्रेसको आपत्ति, संसदीय मर्यादा कायम गर्न आग्रह


काठमाडौं, साउन २८ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, संसदीय मर्यादा र सुशासनप्रति पार्टीको प्रतिबद्धता दोहोर्‍याएको छ। सभापति गगनकुमार थापाको सभापतित्वमा पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन, बीपी नगर ललितपुरमा जारी आजकाे बैठकले विभिन्न चार निर्णय गरेको हो।

बैठकले पार्टीका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा लामो समयको स्वास्थ्य उपचारपछि स्वदेश फर्कनुभएकोमा स्वागत गर्दै पूर्ण स्वास्थ्यलाभको कामना गरेको छ। लोकतान्त्रिक आन्दोलन तथा नेपाली कांग्रेसको इतिहास निर्माणमा देउवाले निर्वाह गर्नुभएको भूमिकाप्रति सम्मान व्यक्त गर्दै पार्टीमा भएको वैधानिक परिवर्तनलाई संस्थागत गर्दै समयसापेक्ष र गतिशील कांग्रेस निर्माणमा उहाँले अभिभावकीय भूमिका निर्वाह गर्नुहुने विश्वास बैठकले व्यक्त गरेको छ।

त्यसैगरी, प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष एवं जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई मध्यरातमा पक्राउ गरिएको, पत्रिकाको कार्यालयमा खानतलासी गरिएको तथा अदालतमा उपस्थित गराउँदा हत्कडी लगाइएको घटनाप्रति कांग्रेसले गम्भीर आपत्ति जनाएको छ।

कानुनविपरीत कार्य भएको अवस्थामा प्रचलित कानुनअनुसार अनुसन्धान तथा कारबाही हुनु स्वाभाविक भए पनि संवैधानिक विधि र स्थापित प्रक्रियालाई पन्छाएर पत्रकार पक्राउ गर्ने, सञ्चारगृहमा खानतलासी गर्ने तथा हत्कडी लगाउने कार्य गलत र अवाञ्छित भएको कांग्रेसको ठहर छ।

कांग्रेसले उक्त घटनालाई स्वतन्त्र प्रेसमाथि मनोवैज्ञानिक त्रास सिर्जना गर्ने तथा नागरिकको सुसूचित हुने मौलिक अधिकार कुण्ठित गर्ने राज्यको नियतका रूपमा लिएको जनाएको छ। कानुनभन्दा माथि कोही हुन नसक्ने उल्लेख गर्दै राज्य संयन्त्रले पूर्वाग्रह र प्रतिशोधका आधारमा व्यवहार गर्न नहुने कांग्रेसले स्पष्ट पारेको छ।

बैठकले सार्वजनिक लेखा समितिमा सत्तारुढ दलका सांसदहरूबाट हालै प्रस्तुत भएको अमर्यादित तथा असंसदीय व्यवहारप्रति पनि गम्भीर असहमति जनाएको छ। संसद् तथा संसदीय समितिहरू लोकतन्त्रका महत्वपूर्ण संस्थाका रूपमा रहेको भन्दै जनप्रतिनिधिले प्रयोग गर्ने भाषा, शैली र व्यवहार अनुशासित, शिष्ट र मर्यादित हुनुपर्ने कांग्रेसको भनाइ छ।

कांग्रेसले आरोप तथा दाबी तथ्य र विधिसम्मत हुनुपर्नेमा जोड दिँदै राजनीतिक संरक्षणका आधारमा कसैलाई उन्मुक्ति दिने वा पूर्वाग्रहका आधारमा कसैको चरित्रहत्या गर्ने दुवै प्रवृत्ति लोकतान्त्रिक मूल्य–मान्यताविपरीत भएको जनाएको छ। पार्टीले आफ्ना सांसदहरूलाई संसद् र संसदीय समितिको उच्च मर्यादा कायम राख्दै उत्तरदायी भूमिका निर्वाह गर्न स्पष्ट निर्देशनसमेत दिएको छ।

बैठकले रोल्पाको थवाङ गाउँपालिका–५ स्थित कोटलबाडामा अविरल वर्षापछि गएको पहिरोमा परी भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ। विपद्मा परेका परिवारलाई उचित राहत तथा पुनर्वासको व्यवस्था गर्न, घाइतेको उपचार गर्न र बेपत्ताको खोजी कार्य तीव्र बनाउन सरकारसँग कांग्रेसले आग्रह गरेको छ।

बैठकमा आज १८ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका छन्। छलफल जारी रहेकाले केन्द्रीय कार्यसमितिको अर्को बैठक साउन २९ गते शुक्रबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभएको छ।

आजको बैठकमा केन्द्रीय सदस्य एवं संसदीय दलका नेता भीष्मराज आङ्देम्बेसहित लक्ष्मी परियार, प्रतिमा गौतम, प्रा.डा. गोविन्दराज पोखरेल, हिमालय कर्माचार्य, दिपनकुमार श्रेष्ठ, लीलादेवी बोखिम लिम्बू, छन्दबहादुर पहराई मगर, मथुराप्रसाद घिमिरे, रामबहादुर कार्की, रामदेवी खड्का, शिवनारायण सिं गनगाइँ, शिवबहादुर सुनार, अष्टकुमार कवे, छायाँ सुनार, निपा चोखाल, सुनिताकुमारी राना र केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले धारणा राख्नुभएको थियो।