नवराज पथिक
काठमाडौं, साउन २८। नेपाली कांग्रेसमा सभापति को भन्ने प्रश्न फेरि सतहमा आएको छ। करिब साढे पाँच महिनापछि नेपाल फर्किएका पूर्वसभापति शेरबहादुर देउवालाई संस्थापन इतर समूहले पार्टीको वैधानिक सभापति दाबी गर्दै स्वागत गरेपछि कांग्रेसभित्रको नेतृत्व विवाद थप पेचिलो बनेको हो।
देउवा बिहीबार नेपाल फर्किए लगत्तै उहाँनिकट नेताहरूले विमानस्थलमा बाजागाजासहित भव्य स्वागत गरे। त्यसपछि उहाँ चुनदेवीस्थित देउवानिकट नेताहरूले सञ्चालनमा ल्याएको सम्पर्क कार्यालय पुग्नुभयो। उक्त कार्यालयमा ‘सभापति शेरबहादुर देउवा’ उल्लेख गरिएको बोर्ड राखिनुका साथै देउवाका लागि छुट्टै कार्यकक्ष र ढोकामा नेमप्लेटसमेत राखिएको छ।
देउवा समूहले पार्टीको आधिकारिकता सम्बन्धी विवादमा सर्वोच्च अदालतले निस्सा दिएपछि आफूहरूको दाबी थप बलियो भएको जनाएको छ। संस्थापन इतर समूहले देउवा नै कांग्रेसको वैधानिक सभापति रहेको दाबी गर्दै शुक्रबार राष्ट्रिय भेला आयोजना गर्दै छ। भेलाको उद्घाटनसमेत देउवाले गर्ने तय भएको छ ।
भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले देउवा नै आफूहरूको वैधानिक सभापति भएको दाबी गर्नुभएको छ। यद्यपि, उहाँले पार्टी विभाजनतर्फ नभई एकताको प्रयास जारी राख्ने बताउनुभएको छ।
तर कांग्रेसको संस्थापन पक्षले भने देउवालाई सभापतिको रूपमा स्वीकार गरेको छैन। जारी केन्द्रीय कार्यसमिति बैठकमा सभापति गगनकुमार थापाले नेपाल फर्किनुभएका देउवालाई ‘निवर्तमान सभापति’ का रूपमा स्वागत गर्दै स्वास्थ्य लाभको कामना गर्नुभएको छ।सभापति थापाको यो सम्बोधनले कांग्रेसभित्र अहिले पनि नेतृत्वको विषयमा दुई फरक दाबी कायम रहेको देखाएको छ।
देउवा समूहले सम्पर्क कार्यालयमा सभापतिको बोर्ड र नेमप्लेट राखेको विषय पार्टीको आधिकारिक संरचनाभित्रको गतिविधि नभएको थापा पक्षको दाबी छ। ‘कसैले नेमप्लेट टाँस्दैमा आधिकारिक हुने हो र ?’, भन्दै सो पक्षले इतर पक्षको दाबीलाई खारेज गरिदिएको छ ।
कांग्रेसको विवाद अब केवल दुई समूहबिचको राजनीतिक मतभेदमा सीमित देखिँदैन। देउवा नै वैधानिक सभापति हुन् भन्ने एउटा पक्षको दाबी र गगन थापा नै वर्तमान सभापति हुन् भन्ने संस्थापन पक्षको अडानबिच पार्टीको आधिकारिक नेतृत्व कसको हो भन्ने प्रश्न खडा भएको छ । एउटै पार्टीमा एकै समय दुई जना सभापति हुने कांग्रेकाे विधानमा काहीँ कतै छैन । अब कि कांग्रेस दुई भएको हुनुपर्याे, कि एकजना मात्र सभापति हुनुपर्याे ।
यता, नेपाल फर्किए लगत्तै देउवाले पार्टीमा देखिएको असहमति र निराशा तत्काल समाधान गर्दै एकताका लागि आह्वान गर्नुभएको छ। यसले नेतृत्व विवादका बिच कांग्रेसभित्र सहमतिको सम्भावना पनि खोज्नुपर्ने दबाब बढाएको छ।
कांग्रेसको विवाद अब केवल दुई समूहबिचको राजनीतिक मतभेदमा सीमित देखिँदैन। देउवा नै वैधानिक सभापति हुन् भन्ने एउटा पक्षको दाबी र गगन थापा नै वर्तमान सभापति हुन् भन्ने संस्थापन पक्षको अडानबिच पार्टीको आधिकारिक नेतृत्व कसको हो भन्ने प्रश्न खडा भएको छ । एउटै पार्टीमा एकै समय दुई जना सभापति हुने कांग्रेकाे विधानमा काहीँ कतै छैन । अब कि कांग्रेस दुई भएको हुनुपर्याे, कि एकजना मात्र सभापति हुनुपर्याे ।
एकातिर देउवा समूहले आफ्ना कार्यालयदेखि राष्ट्रिय भेलासम्म उहाँलाई सभापतिकै हैसियतमा प्रस्तुत गरिरहेको छ भने अर्कोतिर गगन थापाको नेतृत्वमा कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सञ्चालन भइरहेको छ। संस्थापन पक्षले देउवाको दाबीलाई औपचारिक मान्यता नदिएको स्पष्ट छ।
यसकारण अहिले कांग्रेसभित्र सबैभन्दा ठुलो प्रश्न ‘देउवा कि गगन ?’ बनेको छ। सर्वोच्च अदालतमा विचाराधीन पार्टीको आधिकारिकता विवाद, दुवै पक्षका राजनीतिक दाबी र आगामी निर्णयले कांग्रेसको नेतृत्वको अन्तिम तस्बिर स्पष्ट गर्ने देखिन्छ।
तत्कालका लागि भने कांग्रेसमा दुई फरक दाबी, दुई फरक संरचना र एउटै सभापतिको विवाद कायम छ। शुक्रबार हुने देउवा पक्षको राष्ट्रिय भेला र कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयले यो विवादलाई थप स्पष्ट बनाउने अपेक्षा गरिएको छ।













प्रतिक्रिया दिनुहोस्