जनता टाइम्स

२८ श्रावण २०८३, बिहीबार २१:२९

सरकारलाई रास्वपाकै सांसद अमरेशकुमार सिंहकाे प्रश्न : के समृद्धि र सुशासनको रोडम्याप यही हो ?


काठमाडौं, साउन २८ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले देशभरका सार्वजनिक संस्था तथा सरकारी निकायमाथि भइरहेको हस्तक्षेपप्रति गम्भीर प्रश्न उठाउनुभएको छ।

सांसद सिंहले सार्वजनिक संस्था तथा सरकारी निकायमा हस्तक्षेप गर्ने, सेना, प्रहरी तथा कर्मचारीको मनोबल गिराउने काम भइरहेको भन्दै त्यसले राज्य संयन्त्रमै नकारात्मक असर पारिरहेको टिप्पणी गर्नुभएको छ।

उहाँले संसदमा सांसदहरूले दिने अभिव्यक्तिको स्तरप्रति समेत प्रश्न उठाउँदै त्यस्ता अभिव्यक्तिले सम्मानित संसद्कै गरिमा र प्रतिष्ठामाथि प्रश्न उठ्ने अवस्था सिर्जना गरेको बताउनुभएको छ।

व्यवसायीहरूको धरपकडका कारण निजी क्षेत्र त्रसित बनेको उल्लेख गर्दै सिंहले राज्यका गतिविधिले व्यवसायी तथा लगानीकर्तामा समेत असुरक्षा र अविश्वास बढाएको धारणा राख्नुभएको छ।

परराष्ट्र नीतिप्रति पनि असन्तुष्टि व्यक्त गर्दै उहाँले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धमा विश्वासको संकट अर्थात् ‘ट्रस्ट डेफिसिट’ देखिन थालेको दाबी गर्नुभएको छ। सिंहले प्रश्न गर्नुभएको छ, “के समृद्धि र सुशासनको रोडम्याप यही हो ? कि राज्यलाई अझै पछाडि धकेल्ने काम भइरहेको छ ?”

उहाँले वर्तमान गतिविधिबारे गम्भीर समीक्षा गर्दै मुलुकको शासन व्यवस्था, राज्य संयन्त्रको प्रभावकारिता र अन्तर्राष्ट्रिय विश्वासका विषयमा सोच्ने बेला आएको बताउनुभएको छ।