जनता टाइम्स

२८ श्रावण २०८३, बिहीबार २१:४०

सञ्चार साधन जफत गरेर सूचनाको स्रोत खोतल्नु संविधानको मर्ममाथिको प्रहार : शंकर पोखरेल


काठमाडौं, साउन २८ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सञ्चारमाध्यमका साधन जफत गरेर सूचनाको स्रोत खोज्ने सरकारको प्रयास संविधान, प्रेस स्वतन्त्रता र नागरिकको सुसूचित हुने अधिकारमाथिको हस्तक्षेप भएको बताउनुभएको छ ।

महासचिव पोखरेलले नेपालको संविधानको धारा १९ ले सञ्चारमाध्यम, सञ्चार उपकरण वा सामग्री जफत गर्न प्रतिबन्ध लगाएको उल्लेख गर्दै राज्यका निकायले यस्ता संवैधानिक व्यवस्थाको सम्मान गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।

उहाँले अन्तर्राष्ट्रिय मान्यता तथा कानुनी व्यवस्थाअनुसार सूचनाको स्रोत गोप्य राख्नु पत्रकारको पेसागत धर्मसँगै अधिकार पनि भएको बताउनुभएको छ । सञ्चार साधन जफत गरेर सूचनाको स्रोत खोतल्ने प्रयासले प्रेस स्वतन्त्रता कमजोर बनाउने र नागरिकको सुसूचित हुने अधिकारमाथि समेत असर पार्ने उहाँको भनाइ छ ।

पोखरेलले सञ्चारमाध्यम तथा पत्रकारलाई त्रसित बनाउने गरी राज्य संयन्त्रबाट हुने कुनै पनि कदम स्वीकार्य नहुने बताउनुभएको छ । उहाँले प्रेसलाई राज्यको चौथो अङ्गका रूपमा सम्मान गर्दै त्यसको स्वतन्त्रतामाथि हस्तक्षेप नगर्न सरकारलाई आग्रह गर्नुभएको छ ।

उहाँले राज्य संयन्त्रलाई आफ्ना स्वेच्छाचारी कदम तत्काल रोक्न तथा संविधान र प्रचलित कानुनको पूर्ण सम्मान गर्न जोडदार माग गर्नुभएको छ ।