जनता टाइम्स

२९ श्रावण २०८३, शुक्रबार ०७:१२

देउवाको उपस्थितिमा कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज


काठमाडौं, साउन २९। नेपाली कांग्रेसको संस्थापन इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय भेला आयोजना गर्दैछ।

बिहान ११ः३० बजे सुरु हुने भेलालाई कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम छ। करिब पाँच महिनाको विदेश बसाइपछि साउन २८ गते स्वदेश फर्किएका देउवाको उपस्थितिलाई भेलामा विशेष महत्त्वका साथ हेरिएको छ।

इतर समूहको प्रचार–प्रसार समिति संयोजक मीन विश्वकर्माका अनुसार आज उद्घाटन सत्र हुनेछ भने बन्दसत्र साउन ३० र ३१ गते सञ्चालन हुनेछ।

बन्दसत्रमा कांग्रेसको वर्तमान अवस्था, आगामी राजनीतिक रणनीति, नीति तथा कार्यक्रमलगायत विषयमा छलफल हुने बताइएको छ।

भेलामा देशभरबाट करिब पाँच हजार नेता तथा कार्यकर्ता सहभागी हुने आयोजकको अनुमान छ। देउवाको सहभागिताले कांग्रेसभित्रको आन्तरिक शक्ति समीकरण र आगामी राजनीतिक दिशाबारे थप बहस हुने अपेक्षा गरिएको छ।