काठमाडौं, २९ साउन । अविरल वर्षापछि आएको बाढीले कास्की र पर्वत जोड्ने दुईवटा मेटल पुल बगाएको छ । बाढीका कारण अन्नपूर्ण गाउँपालिकास्थित अन्नपूर्ण माता मन्दिरमा तीन जना फसेका छन् ।
सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाका अनुसार शुक्रबार बिहान करिब २ः१५ बजे अन्नपूर्ण गाउँपालिका–५ र ६ को सीमामा पर्ने नयाँपुल–बिरेठाँटी सडकखण्ड नजिकै मोदीखोलामा आएको बाढीले मन्दिरसम्म आवतजावत गर्न प्रयोग हुने कास्की र पर्वततर्फका दुईवटा मेटल पुल बगाएको हो ।
बाढीले मोदीखोलाको बीचमा रहेको अन्नपूर्ण माता मन्दिरको आधा भागसमेत बगाएको सशस्त्र प्रहरीले जनाएको छ ।
मन्दिरमा एक जना सन्तपुजारी र दुई जना भक्तजन गरी तीन जना फसेको खबर पाएपछि उनीहरूको उद्धारका लागि सुरक्षा टोली परिचालन गरिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण कास्कीबाट चार जना रोप रेस्क्यु तथा तीन जना गोताखोरसहितको उद्धार टोली घटनास्थल पुगेको छ । आवश्यक विपद् उद्धार सामग्रीसहित सुरक्षाकर्मीलाई राति २ः३५ बजे घटनास्थलतर्फ पठाइएको डीएसपी थापाले जानकारी दिनुभयो ।
बाढीको बहाव तीव्र रहेकाले जोखिमका बीच मन्दिरमा फसेका तीनै जनालाई सुरक्षित रूपमा बाहिर निकाल्ने प्रयास भइरहेको छ ।
बाढीबाट पुल र मन्दिरमा भएको क्षतिको थप विवरण आउन बाँकी छ ।













प्रतिक्रिया दिनुहोस्