जनता टाइम्स

२९ श्रावण २०८३, शुक्रबार ०९:४१

रास्वपाको ओरालो यात्रालाई पुराना दलले आत्मरतीको आधार नबनाऊन् : योगेश भट्टराई


काठमाडौं, साउन २९ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पछिल्लो राजनीतिक यात्रालाई लिएर टिप्पणी गर्दै पुराना दलहरूले आफ्नो कमजोरीको समीक्षा नगरी रास्वपाको कमजोर अवस्थालाई आफ्नो पुनरुत्थानको आधार ठान्नु गम्भीर भूल हुने बताउनुभएको छ।

भट्टराईले एमाले, कांग्रेस र माओवादीजस्ता पुराना दलको अकर्मण्यता तथा प्रमुख नेताहरूको अयोग्यतालाई आधार बनाएर रास्वपाको जन्म भएको दाबी गर्नुभएको छ। रवि लामिछाने र बालेन शाहलाई नेतृत्वमा अघि सार्दा रास्वपाले सुरुवाती चरणमा उल्लेख्य सफलता पाए पनि पार्टी निर्माणका लागि आवश्यक विचार, सिद्धान्त, नीति, वर्गीय तथा सामाजिक आधार स्पष्ट गर्न नसक्दा अहिले ओरालो यात्रा सुरु भएको उहाँको भनाइ छ।

“पुराना पार्टी (एमाले, कांग्रेस र माओवादी) को अकर्मण्यता र तिनका प्रमुख नेताहरूको अयोग्यतालाई नै आफ्नो उत्थानको प्रमुख आधार मानेर रास्वपा पार्टी जन्माइयो । रवि, बालेनलाई नेता बनाइयो । तत्काल ठूलै सफलता पनि मिल्यो । तर रवि, बालेन र रास्वपाले पार्टी निर्माणका लागि आवश्यक पर्ने विचार, सिद्धान्त, नीति, वर्ग र सामाजिक आधार निश्चित गर्नतिर ध्यान नदिँदा शिखरबाट ओरालो यात्रा सुरु भएको छ।”

“अरुको परीक्षा लिएर रमाइरहेकाहरू आफ्नै परीक्षामा तोरीको फूल देखिरहेका छन् । बाहिर र भित्रका विरोधीमाथिको बदला र प्रतिशोध नेतृत्वमा टिक्ने र शासनलाई लम्ब्याउने आधार न हिजोकालाई काम लाग्यो, न आजकालाई काम लाग्नेछ।”

भट्टराईले रास्वपाले अरूको परीक्षा लिन खोज्दा अहिले आफ्नै परीक्षामा असफलताको अवस्था देखिन थालेको टिप्पणी गर्नुभएको छ। विरोधीमाथि बदला र प्रतिशोधलाई नेतृत्वमा टिक्ने तथा शासन लम्ब्याउने आधार बनाउनु गलत हुने उहाँको भनाइ छ।

“अरुको परीक्षा लिएर रमाइरहेकाहरू आफ्नै परीक्षामा तोरीको फूल देखिरहेका छन् । बाहिर र भित्रका विरोधीमाथिको बदला र प्रतिशोध नेतृत्वमा टिक्ने र शासनलाई लम्ब्याउने आधार न हिजोकालाई काम लाग्यो, न आजकालाई काम लाग्नेछ।”

उहाँले रास्वपाको ओरालो यात्रालाई देखेर पुराना दलका नेताहरू आत्मरतीमा रमाउन नहुने चेतावनीसमेत दिनुभएको छ। रास्वपाको कमजोर अवस्था र रवि लामिछाने तथा बालेन शाहको अयोग्यतालाई आफ्नो नेतृत्वको सान्दर्भिकता र पुनरुत्थानको आधार ठान्नु अर्को ठूलो भूल हुने उहाँको भनाइ छ।

“रास्वपाको ओरालो यात्रा र रवि र बालेनको अयोग्यतालाई आफ्नो नेतृत्वको सान्दर्भिकता र पुनःउदयको आधार ठानेर आत्मरतीमा मस्त हुनु महाभूल हुनेछ।”

भट्टराईले पुराना दलहरूले विगतका कमजोरीको समीक्षा गर्दै कमजोर हुँदै गएको वर्गीय तथा सामाजिक आधार पुनर्निर्माण गर्नुपर्ने बताउनुभएको छ। नेतृत्वको अयोग्यतालाई ढाकछोप गर्ने, नीति–विचार र संगठन पुनर्गठनबारे छलफल गर्न नचाहने तथा समस्यालाई कार्पेटमुनि छोप्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने उहाँको जोड छ।

“विगतका कमजोरीको समीक्षा नगर्ने, भत्किँदै गएको वर्ग र सामाजिक आधारको पुनर्निर्माणतिर ध्यान नदिने, नेतृत्वको अयोग्यतालाई ढाकछोप गर्ने र नीति, विचार तथा संगठनको पुनर्गठनका बारेमा छलफल गर्न तयार नहुने हो भने त्यो महाभूल हुनेछ।”

उहाँले उही जयजयकारको भीडलाई लोकप्रियताको आधार र शक्तिको स्रोत ठान्ने प्रवृत्तिले पुराना दलहरूलाई थप संकटतर्फ धकेल्ने बताउनुभएकाे छ ।