काठमाडौं, साउन २९। रोल्पामा लगातारको वर्षापछि आएको पहिरोले घर पुरिँदा तीन जना बेपत्ता भएका छन्। सुनछहरी गाउँपालिका–२ फलबाङमा आज बिहान पहिरोले घर पुरिँदा घरमा रहेका तीन जना बेपत्ता भएका हुन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार बिहान करिब ८ः१० बजे स्थानीय वीरबहादुर घर्ती मगरको घर पहिरोले पुरिएको हो। पहिरोमा परी घर्ती मगर, उहाँकी श्रीमती शनि घर्ती मगर र छिमेकी ललि घर्ती मगर बेपत्ता हुनुभएको छ।
उक्त घरमा तीनै जना गए राति बसेको बताइएको छ। पहिरोले घर पूर्णरूपमा पुरिएपछि उहाँहरूको अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ।
यसैगरी, सुनछहरी गाउँपालिका–२ कै गिट्ठेस्थित लादे बुढा मगरको घरसमेत पहिरोले पुरिएको छ। घटनामा भएको क्षति तथा अन्य विवरणबारे थप जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
रोल्पामा केही दिनयता लगातार भइरहेको वर्षाका कारण विभिन्न स्थानमा पहिरो र बाढीको जोखिम बढेको छ। यसअघि बुधबार पनि जिल्लाका विभिन्न क्षेत्रमा पहिरो जाँदा ठूलो धनजनको क्षति भएको थियो।
लगातारका विपद्का घटनापछि जोखिमयुक्त बस्तीका स्थानीयलाई सतर्क रहन तथा सम्भावित पहिरो प्रभावित क्षेत्रमा सावधानी अपनाउन आग्रह गरिएको छ। बेपत्ताको खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ।













प्रतिक्रिया दिनुहोस्