काठमाडौं, साउन २९। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता खगराज भट्ट नियुक्त हुनुभएको छ। प्रदेश प्रमुख नजिर मियाँले शुक्रबार भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो।
भट्टले शुक्रबार बिहानै आफूलाई मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै प्रदेश प्रमुख मियाँसमक्ष दाबी पेस गर्नुभएको थियो। उहाँले नेकपा एमालेको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको हो।
यसअघि मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख मियाँले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको थियो। प्रदेश प्रमुखले मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबार बिहान ११ बजेसम्मको समय दिनुभएको थियो।
तोकिएको समयभित्रै एमालेको समर्थन जुटाएर भट्टले मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको थियो। दाबी पेस गरेपछि प्रदेश प्रमुखले उहाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो।
मुख्यमन्त्री भट्टको शपथ ग्रहण पनि आजै हुँदै छ । आज दिउँसो ३ बजे उहाँलाई शपथ गराउने तयारी गरिएको छ। मुख्यमन्त्रीको शपथ लिएलगत्तै उहाँले सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने सम्भावना रहेको छ ।
नेकपा र एमालेबीच सुदूरपश्चिम प्रदेशमा यसअघि नै मन्त्रालय बाँडफाँटमा सहमति भइसकेको जनाइएको छ। सहमतिअनुसार नेकपाले मुख्यमन्त्रीसहित चार मन्त्रालय र एमालेले तीन मन्त्रालयको जिम्मेवारी पाउने भएको छ।
एमालेले आर्थिक मामिला, सामाजिक विकास तथा वन वा कृषिमध्ये एक मन्त्रालयको नेतृत्व गर्ने छ।
यसअघि असार ३१ गते एमालेले बजेटप्रति असहमति जनाउँदै तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। त्यसपछि सरकार अल्पमतमा परेको थियो।













प्रतिक्रिया दिनुहोस्