भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा सुकुम्बासी हिरालाल हजारा दुसादको आत्महत्या प्रकरणमा मृतकका परिवारले शहीद घोषणादेखि परिवारलाई रोजगारीसम्मका माग अघि सारेका छन
भक्तपुर, साउन २९ । बोडेस्थित होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासी हीरालाल हजारा दुसादले आत्महत्या गरेको घटनामा परिवार तथा अधिकारकर्मीले सरकारसमक्ष १२ बुँदे माग राखेका छन ।
राष्ट्रिय मानव अधिकार आयोगसहित सम्बन्धित सरकारी निकायलाई सम्बोधन गर्दै परिवारका तर्फबाट बुझाइएको मागपत्रमा यस्तो माग अघि सारिएको हो । पत्रमा सरकारले वैकल्पिक व्यवस्था नगरी घरटहरा भत्काउँदा प्रभावित परिवारहरू लामो समयदेखि मानसिक दबाब र अनिश्चितताको अवस्थामा बाँच्न बाध्य भएको उल्लेख छ ।
मागपत्रमा ४७ वर्षीय दुसादले आत्महत्या गर्नुपर्ने अवस्था कसरी सिर्जना भयो भन्नेबारे निष्पक्ष छानबिनको मागसमेत गरिएको छ । दुसाद केही वर्षदेखि बसोबास गर्दै आएको घरटहरा भत्काइएपछि वैकल्पिक व्यवस्थाबिना विस्थापित भएको र कहिले कीर्तिपुर तथा कहिले बोढे क्षेत्रमा रहेका होल्डिङ सेन्टरमा बस्नुपरेको उल्लेख गरिएको छ ।
परिवारका अनुसार घरबारविहीन भएपछि दुसादसहित विस्थापित परिवारहरू अनिश्चितता, मानसिक दबाब र भविष्यको चिन्तामा रहनुभएको थियो । मागपत्रमा हीरालालको मृत्यु सामान्य घटना नभई राज्यको विस्थापन नीति, प्रशासनिक व्यवहार, मानवअधिकारको अवस्था तथा भूमिहीन र अव्यवस्थित बसोबासीप्रतिको राज्यको दृष्टिकोणमाथि गम्भीर प्रश्न उठाएको उल्लेख छ ।
परिवार तथा अधिकारकर्मीहरूले हीरालालको मृत्युको कारण र त्यसअघि सिर्जित परिस्थितिबारे राष्ट्रिय मानव अधिकार आयोग वा स्वतन्त्र न्यायिक छानबिन समितिमार्फत अनुसन्धान गर्न पनि माग गरेका छन् । दोषी वा जिम्मेवार देखिएका पदाधिकारी तथा व्यक्तिमाथि कानुनबमोजिम कारबाही गर्नसमेत माग गरिएको छ ।
मागपत्रमा मृतकको पार्थिव शरीरलाई धार्मिक, सांस्कृतिक तथा पारिवारिक परम्पराअनुसार सम्मानपूर्वक अन्त्येष्टिका लागि राज्यले खर्च व्यहोर्नुपर्ने, हीरालाललाई भूमि तथा आवाससम्बन्धी नागरिक आन्दोलनका क्रममा ज्यान गुमाएका ‘शहीद’ का रूपमा घोषणा गरी सम्मान दिनुपर्ने मागसमेत गरिएको छ।
यसैगरी मृतक परिवारलाई तत्कालीन राहतमा मात्र सीमित नराखी दीर्घकालीन जीविकोपार्जन सुनिश्चित हुने गरी उचित आर्थिक क्षतिपूर्ति उपलब्ध गराउन माग गरिएको छ । क्षतिपूर्ति निर्धारण गर्दा परिवारको वास्तविक सामाजिक तथा आर्थिक अवस्था, आश्रित सदस्य र भविष्यको जीविकोपार्जनलाई आधार बनाउनुपर्ने माग छ ।
त्यस्तै, संविधानले प्रत्याभूत गरेको आवासको हक तथा सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्न मृतकको परिवारलाई सुरक्षित, स्थायी र कानुनी स्वामित्वसहितको भूमि तथा आवास तत्काल उपलब्ध गराउन माग गरिएको छ । मागपत्रमा अब कुनै अर्को होल्डिङ सेन्टरमा सार्ने नभई स्थायी समाधान दिनुपर्ने अडान पनि राखिएको छ ।
यसैगरी मागपत्रमा मृतकका बालबालिकालाई माध्यमिक तहदेखि उच्च शिक्षा, प्राविधिक तथा व्यावसायिक शिक्षासम्म पूर्ण छात्रवृत्तिसहित निःशुल्क शिक्षा उपलब्ध गराउने लिखित प्रतिबद्धता राज्यले गर्नुपर्ने उल्लेख छ । परिवारलाई राहतमा मात्र निर्भर नबनाई दिगो आत्मनिर्भरता सुनिश्चित गर्न योग्यताका आधारमा परिवारका कम्तीमा एक जना सक्षम सदस्यलाई सरकारी वा सार्वजनिक संस्थानमा रोजगारीको विशेष व्यवस्था गर्नुपर्ने माग गरिएको छ।
मृतककी श्रीमती, बालबालिका, वृद्ध आमाबुबा तथा अन्य वास्तविक आश्रित सदस्यलाई निःशुल्क स्वास्थ्य उपचार, सामाजिक सुरक्षा र आवश्यक संरक्षणको दीर्घकालीन व्यवस्था गर्नसमेत माग गरिएको छ ।
मागपत्रमा बिना पूर्वसूचना, बिना वैकल्पिक व्यवस्थापन र बिना कानुनी प्रक्रिया घरटहरा भत्काउने, धरपकड गर्ने, डर–त्रास सिर्जना गर्ने तथा होल्डिङ सेन्टरमा सार्ने कार्य तत्काल रोक्न सरकारसँग आग्रह पनि गरिएको छ ।
होल्डिङ सेन्टरलाई विस्थापित नागरिकको स्थायी व्यवस्थापनको विकल्पका रूपमा प्रयोग नगर्न र प्रभावित नागरिकका लागि दीर्घकालीन तथा सम्मानजनक आवासको व्यवस्था गर्नसमेत पत्रमा माग गरिएको छ ।
यसैगरी भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको निष्पक्ष लगत संकलन, प्रमाणको वैज्ञानिक परीक्षण तथा सार्वजनिक सुनुवाइमार्फत पारदर्शी छानबिन गरी सम्बन्धित भूमिसम्बन्धी आयोग तथा कानुनी संयन्त्रमार्फत स्थायी समाधान खोज्न माग गरिएको छ । वास्तविक पीडितलाई झुटा विवरण वा अन्य आरोप लगाएर अपमानित र बदनाम गर्ने काम बन्द गर्न पनि माग गरिएको छ ।
मागपत्रमा होल्डिङ सेन्टरमा रहेका परिवारको आवास, खानेपानी, खाना, स्वास्थ्य, शिक्षा, सुरक्षा, सरसफाइ तथा मानसिक स्वास्थ्यको अवस्थाबारे सम्बन्धित सरकारी निकाय र राष्ट्रिय मानव अधिकार आयोगबाट नियमित अनुगमन गरी सार्वजनिक गर्न माग गरिएको छ ।
पीडित परिवारका अनुसार भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) बिनोदकुमार खडका आएर राति १० बजे मन्त्री प्रतिभा रावलसँग परिवारका सदस्यलाई फोन गराउनु भएको थियो । सिडिओ खडकाले परिवारका एक सदस्यलाई जागीरको जिम्मा म लिन्छु भनेपछि शव टिचिङ हस्पिटलमा लगेर राखिएको छ । तर त्यसपछि राज्यको तर्फबाट काममा कुनै प्रगति हुननसकेको पीडित परिवार र होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीले बताएका छन ।













प्रतिक्रिया दिनुहोस्