जनता टाइम्स

२९ श्रावण २०८३, शुक्रबार १२:४८

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिँदै


हेटौँडा, साउन २९ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ १ गते प्रदेशसभामा विश्वासको मत लिनुहुने भएको छ। उहाँले सोमबार दिउँसो १ बजे विश्वासको मत लिने गरी आवश्यक प्रक्रिया अघि बढाउन प्रदेशसभा सचिवालयलाई पत्राचार गर्नुभएको बुझिएकाे छ।

नेकपा एमालेले गत साउन ६ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री बानियाँ संवैधानिक रूपमा विश्वासको मत लिनुपर्ने अवस्थामा पुग्नुभएको हो। एमाले सरकारबाट बाहिरिएपछि कांग्रेस नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेको छ।

एमालेले समर्थन फिर्ता लिए लगत्तै मुख्यमन्त्री बानियाँले विश्वासको मत लिनका लागि राजनीतिक तयारी अघि बढाउनुभएको थियो। नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले पनि भदौ ३ गतेभित्र विश्वासको मत लिने गरी तयारी गर्न मुख्यमन्त्रीलाई सुझाव दिएको थियो। सोहीअनुसार मुख्यमन्त्री बानियाँले भदौ १ गते नै प्रदेशसभाबाट विश्वासको मत लिने निर्णय गर्नुभएको हो।

विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाका कारण बागमती प्रदेशको सत्ता समीकरण अहिले निर्णायक मोडमा पुगेको छ। सरकारलाई निरन्तरता दिन आवश्यक बहुमत जुटाउन मुख्यमन्त्री बानियाँले विभिन्न दल तथा प्रदेशसभा सदस्यहरूसँग छलफल अघि बढाउनुभएको छ।

नेपालको संविधानको धारा १८८ को उपधारा (२) ले प्रदेश सरकारमा सहभागी कुनै दलले समर्थन फिर्ता लिएमा मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था गरेको छ।

विश्वासको मतको प्रस्ताव तत्काल कायम रहेका प्रदेशसभा सदस्यको बहुमतबाट पारित हुन नसके मुख्यमन्त्री पदमुक्त हुने संवैधानिक प्रावधान छ।

यही व्यवस्थाअनुसार एमालेले साउन ६ गते समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री बानियाँले विश्वासको मत लिन लाग्नुभएको हो। समर्थन फिर्ता लिँदै एमालेका ६ जना मन्त्रीले सरकारबाट सामूहिक राजीनामा दिनुभएको थियो।

एमाले सरकारबाट बाहिरिएपछि बानियाँ नेतृत्वको सरकारसँग कांग्रेसका सांसदहरूको मात्रै प्रत्यक्ष समर्थन रहेको अवस्था छ। त्यसैले विश्वासको मत प्राप्त गर्न मुख्यमन्त्रीले अन्य दल तथा सांसदहरूको समर्थन जुटाउनुपर्ने चुनौती छ। जो अहिलेको अवस्थामा सम्भव देखिएको छैन । 

प्रदेशसभामा निर्वाचित ११० जना प्रदेशसभा सदस्यमध्ये ६ जनाले गत प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न राजीनामा दिएपछि हाल प्रदेशसभामा १०४ सदस्य छन् । यो अङ्कगणित अनुसार वाग्मतीमा नयाँ सरकार गठनका लागि ५३ जना प्रदेशसभा सदस्यको बहुमत पुर्‍याउनुपर्ने हुन्छ ।

प्रदेशसभामा कांग्रेस ३६ सिटसहित सबैभन्दा ठुलो दल छ । नेकपाको २६ सिट, नेकपा एमालेको २५ सिट (उपसभामुखसहित) छ । अन्य साना दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को १२, नेपाल मजदुर किसान पार्टीको ३ र हाम्रो नेपाली पार्टीको २ सिट छ । 

प्रदेशमा एमाले नेतृत्वमा सरकार बनाउने एमाले र नेकपा बिच सहमति भइसकेको छ । का‌ंग्रेसले सरकार टिकाइ राख्ने यी दुई दल बाहेक सबै दलको समर्थन जुटाउनु पर्ने छ । जो सम्भव देखिँदैन। 

 एमाले र नेकपालाई पनि सरकार बनाउन  अर्को कुनै एक दलको समर्थन जुटाउनु पर्ने हुन्छ । यी दुई दल  मिलेर ५१ सांसद हुन्छ । जसका लागि २ जना अपुग हुन्छ ।  जसको लागि एमालेले राप्रपासँग कुरा गरिरहेको बुझिएको छ । सम्भवतः बानियाले विश्वासकार मत फेस गर्नु अघि नै एमालेले मुख्यमन्त्रीको दाबी पेस गर्ने छ । एमालेले किरण थापा मगरलाई मुख्यमन्त्री बनाउने तयारी गरिरहेको छ । 

यदि नेकपा एमाले र नेकपाले बहुमत पुर्‍याएर मुख्यमन्त्री दाबी गर्न सकेनन् भने पुनः संसदकाे सबैभन्दा ठुलो दलका हैसियतले नेपाली कांग्रेसले अल्पमतको सरकार बनाउने छ । सो सरकारले ३० दिन भित्र विश्वासको मत लिनु पर्ने छ ।