काठमाडौं, साउन २९ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट सभापति गगन थापाको नेतृत्वमा आएको नयाँ नेतृत्वले पार्टी विभाजन हुने गरी कुनै गल्ती नगरेको बताउनुभएको छ । उहाँले पार्टीभित्र देखिएको राजनीतिक तथा कानुनी मतभेद संवादमार्फत समाधान गर्दै कांग्रेसलाई थप एकताबद्ध र बलियो बनाउने प्रयास भइरहेको स्पष्ट पार्नुभएको छ ।
सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै उपसभापति शर्माले सर्वोच्च अदालतले कांग्रेससम्बन्धी निर्वाचन आयोगको अद्यावधिकलाई सदर गरेपछि त्यसलाई कसैको जित वा हारका रूपमा नलिई पार्टी एकताका लागि पहल गरिएको बताउनुभयो ।
उहाँले सर्वोच्चको निर्णय आएको ४८ घण्टा नपुग्दै सभापति थापा तत्कालीन कार्यवाहक सभापतिको निवासमा पुगेर संवाद गर्नुभएको स्मरण गर्नुभयो । त्यसपछि विभिन्न नेताहरूसँग पटक–पटक छलफल गरिएको र पार्टी एकताका लागि सातबुँदे प्रस्ताव लिखित रूपमा अघि सारिएको उहाँले जानकारी दिनुभयो । “विशेष महाधिवेशनको सन्दर्भमा रहेको विमतिलाई राष्ट्रिय महाधिवेशनमा समेत राख्ने गरी हामीले उहाँहरुलाई सहमतिका लागि प्रस्ताव गरेका छौँ,” शर्माले भन्नुभयो ।
उहाँका अनुसार पार्टीका अग्रज नेताहरूलाई वरिष्ठ नेताका रूपमा स्थापित गर्ने तथा देउवा पक्षका कतिपय नेताहरूलाई केन्द्रीय कार्यसमिति र कार्यसम्पादन समितिमा समेट्ने प्रस्तावसमेत गरिएको छ । “हामीले पार्टीका अग्रज नेताहरूलाई वरिष्ठ नेताको रूपमा स्थापित गर्न खोजेका छौँ, कतिपय नेताहरूलाई केन्द्रीय कार्यसमिति र कार्यसम्पादन समितिमा राख्ने प्रस्ताव पनि गरेका छौँ,” उहाँले बताउनुभयो ।
शर्माले सर्वोच्च अदालतबाट कानुनी बाटो स्पष्ट भइसकेपछि इतर समूहको भेलाबाट अर्को दल बन्ने सम्भावना अन्त्य भएको दाबी गर्नुभयो । उहाँले अब पार्टीभित्रका राजनीतिक विषय राजनीतिक ढङ्गबाटै समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।“राजनीतिक विषय राजनीतिक ढङ्गले नै हल भएर जाने मूलतः त्यसको प्रकृति हुन्छ,” उहाँले भन्नुभयो ।
शुक्रबार हुने देउवा पक्षको भेलाले कांग्रेस नेतृत्वले अघि सारेका सातबुँदे प्रस्तावमाथि गम्भीर छलफल गरी स्पष्ट सुझाव दिने अपेक्षा शर्माले गर्नुभएको छ । “हामीले राखेको सातवटा बुँदामा थप्नुपर्ने के ? घटाउनुपर्ने के ? अटाउनुपर्ने के ? स्पष्ट रूपमा आओस्,” उहाँले भन्नुभयो ।
उहाँले देउवा पक्षको भेलाले पार्टीलाई थप बलियो बनाएर अघि बढ्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । “कम्तीमा नेताहरूले साथीहरूलाई थुमथुम्याएर पठाउनुहुनेछ, हामी पछि फेरि छलफलमा बस्नेछौँ,” शर्माले भन्नुभयो ।
भेलाको नाममा देउवा पक्षलाई लक्षित गरी निन्दा गर्ने कार्यक्रम नगर्नसमेत उहाँले आग्रह गर्नुभयो । शर्माले पार्टी नेतृत्व सबै पक्षसँग संवादका लागि खुला रहेको बताउनुभयो । “भेला सकिएपछि हामी संवाद गर्नेछौँ, हामी संवादका लागि खुला छौँ,” उहाँले भन्नुभयो ।
संविधान, कानुन, पार्टी विधान, कांग्रेसको इतिहासको निरन्तरता तथा कार्यकर्ताको भावनालाई आधार बनाएर पार्टीले राष्ट्रिय शक्तिका रूपमा आफ्नो भूमिका प्रभावकारी ढङ्गले निर्वाह गर्ने उहाँले बताउनुभयो ।
सभापति गगन थापाको नेतृत्वमा कांग्रेस आगामी दिनमा अझ बलियो र सबल भएर अघि बढ्ने दाबी गर्दै शर्माले भन्नुभयो, “देशभरिका साथीहरूले व्यक्त गर्नुभएको दृढता र भावनाको जगमा पूर्ण विश्वासका साथ भन्न सक्दछु, आगामी दिनमा हाम्रो सङ्कल्प अझ बलियो भएर जानेछ ।”













प्रतिक्रिया दिनुहोस्