जनता टाइम्स

२९ श्रावण २०८३, शुक्रबार १४:४३

कांग्रेलाई जुटाउनु हाम्राे जिम्मेवारी, कांग्रेस एकजुट भए कसैले हराउन सक्दैन : डा. शशांक कोइराला


काठमाडौं, साउन २९ । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीलाई एकताबद्ध बनाउनु आफ्नो प्रमुख कर्तव्य भएको बताउनुभएको छ। नेपाली कांग्रेस एकजुट भए कसैले पनि पार्टीलाई पराजित गर्न नसक्ने उहाँको दाबी छ।

सभापति शेरबहादुर देउवा पक्षीय राष्ट्रिय भेलालाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै डा. कोइरालाले पार्टीभित्र एकता कायम गर्नकै लागि भेला आयोजना गरिएको बताउनुभयो।

उहाँले नेपाली कांग्रेसको नेतृत्व शेरबहादुर देउवाले नै गरिरहनुभएको उल्लेख गर्दै देउवाकै नेतृत्वमा पार्टी अघि बढ्ने स्पष्ट पार्नुभयो।

‘नेपाली कांग्रेसलाई एकजुट बनाउनु मेरो कर्तव्य हो, त्यसकै लागि यो भेला आयोजना गरिएको हो, नेपाली कांग्रेस एकजुट भयो भने कसैले हराउन सक्दैन,’ उहाँले भन्नुभयो।

डा. कोइरालाले सभापति देउवाको नेतृत्वको प्रशंसा गर्दै उहाँलाई सुदूरपश्चिमको ‘राजकुमार’को संज्ञासमेत दिनुभयो। ‘शेरबहादुर सुदूरपश्चिमको राजकुमार हो। उहाँको भाग्य बलियो छ,’ उहाँले भन्नुभयो।

देउवा विदेशबाट स्वदेश फर्किएपछि पार्टी कार्यकर्तामा उत्साह देखिएको उहाँको भनाइ थियो। ‘शेरबहादुर देउवा आएपछि भेला सफल भयो। हिजो शेरबहादुर देउवा देश फर्किएपछि देशमा एउटा उत्साह देखिएको छ,’ उहाँले बताउनुभयो।

डा. कोइरालाले देउवालाई नै कांग्रेसको नेता र सभापति भएको उल्लेख गर्दै उहाँकै नेतृत्वमा पार्टी अघि बढ्ने धारणा राख्नुभयो।

‘शेरबहादुर नै हाम्रो नेता हो। हाम्रो सभापति शेरबहादुर देउवा हो। उहाँको नेतृत्वमा नेपाली कांग्रेस अघि बढ्छ,’ उहाँले भन्नुभयो।