जनता टाइम्स

२९ श्रावण २०८३, शुक्रबार १६:४२

सांसद खगेन्द्र सुनारको उदण्डातापछि संसदीय समितिमा शिष्ट भाषा प्रयोग गर्न रुलिङ


काठमाडौं, साउन २९ । सार्वजनिक लेखा समिति बैठकमा सत्तारुढ दलकै सांसदको उदण्डताले सीमा नाघेपछि संसदीय समितिले शिष्ट बोल्न निर्देशन नै जारी गर्नुपरेको छ ।

लेखा समिति बैठकमा रास्वपा सांसद खगेन्द्र सुनारले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीमाथि आपत्तिजनक आक्षेपसहित उदण्डता देखाएपछि रास्वपा नेतृत्वकै संसदीय समितिले निर्देशन जारी गरेको हो ।

प्रतिनिधिसभा अन्तर्गतको कानुन न्याय तथा मानव अधिकार समितिको शुक्रवारको बैठकमा समिति सभापति समीक्षा बास्कोटाले यस्तो रुलिङ गर्नुभएको हो ।

‘समितिमा हामीले आमन्त्रित गर्ने व्यक्तिहरू कुनै न कुनै संगठनका प्रमुख, कुनै न कुनै मन्त्रालयदेखि लिएर निकायका प्रमुख रहेर काम गरिरहनु भएको स्थिति भएकोले हामीले यहाँनेरी बोलिने भाषा, हामीले प्रयोग गरिने शब्द र हामीले प्रयोग गर्ने व्यवहार यो सम्पूर्ण आम नागरिकले पनि हेरिराख्नु भएको हुन्छ,’ सभापति बास्कोटाले निर्देशन दिँदै भन्नुभयो, ‘यो हिसाबले समितिमा बोल्ने विषयमा विषयान्तर नभइकन र हामीले प्रयोग गर्ने भाषामा पनि त्यत्तिकै सचेत र संवेदनशील भएर विषय उठान गर्दिनुहुन्छ भनेर माननीय सदस्यहरू र आमन्त्रित सम्पूर्ण व्यक्तित्वहरूमा अनुरोध गर्न चाहन्छु।’

पछिल्लो समयमा सुनारलगायतका कतिपय सांसदहरूले आमन्त्रित व्यक्तिमाथि उदण्डता देखाउँदै आउनु भएको छ । यसलाई ख्याल गर्दै संसदीय समितिकि सभापति बास्कोटाले आफ्नो समितिमा मर्यादित भाषा प्रयोग गर्न भन्नुभएको हो ।

शुक्रवारको बैठकमा समितिमा विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीहरूको मानव अधिकारको अवस्था सम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन २०८३ उपर छलफल र सुझाव संकलन गर्ने कार्यसूची रहेको थियो ।