जनता टाइम्स

२९ श्रावण २०८३, शुक्रबार १८:००

अहिलेको कांग्रेस संस्थापन पक्षसँग कांग्रेसको आत्मा छैन, शरीर मात्र छ : डा. प्रकाशशरण महत


काठमाडौं, साउन २९ । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले अहिले कांग्रेसको संस्थापन पक्षसँग रहे पनि त्यसमा कांग्रेसको आत्मा नरहेको टिप्पणी गर्नुभएको छ। उहाँले कांग्रेसको नाम, चारतारे झण्डा र रुख चिन्ह मात्र हुँदैमा कांग्रेस नहुने बताउनुभएको छ।

शेरबहादुर देउवा पक्षीय नेपाली कांग्रेसकाे राष्ट्रिय भेलालाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै डा. महतले पार्टीलाई कमजोर बनाउने उद्देश्यले विशेष महाधिवेशन गराइएको आरोप लगाउनुभएको हो।

उहाँले वैशाखमा नियमित महाधिवेशन गर्ने भनिरहेका बेला विशेष महाधिवेशन गराइनु भदौ २३ र २४ गतेको घटनाकै अर्को शृङ्खला भएको दाबी गर्नुभयो। “कांग्रेसलाई कमजोर बनाउने अभियानअन्तर्गत विशेष महाधिवेशन भएको हो,” उहाँले भन्नुभयो।

पुरानै नेतृत्वबाट कांग्रेस अघि बढ्दा निर्वाचन जित्न नसक्ने तर्क गरिए पनि आमनिर्वाचनको परिणामले त्यसलाई गलत साबित गरेको उहाँको भनाइ थियो। “पुरानै नेतृत्वबाट जाँदा कांग्रेसले चुनाव जित्दैन भनियो, तर आमनिर्वाचनको परिणाम सबैलाई थाहा छ,” उहाँले भन्नुभयो।

पार्टीमा उत्पन्न विवाद समाधानका लागि आफूहरूले निरन्तर संवाद र समझदारीको प्रयास गरेको उहाँले बताउनुभयो। १५औँ महाधिवेशन निष्पक्ष हुने सुनिश्चितता गरौँ भनेर आग्रह गरे पनि त्यसलाई स्वीकार नगरिएको उहाँको गुनासो थियो।

पार्टी विभाजन आफूहरूले नचाहेको स्पष्ट पार्दै डा. महतले विभाजनको अवस्था आफूहरूबाट नभई अर्को पक्षबाट सिर्जना गरिएको दाबी गर्नुभयो। “कतिपयलाई भ्रम छ, विभाजन हामीले चाहेका हौँ भन्ने। तर त्यो होइन। विभाजन त्यतैबाट खोजिएको हो,” उहाँले भन्नुभयो। उहाँले केही नेतामा ‘हामी एक्लै पार्टी हाँक्छौँ’ भन्ने मानसिकता विकास भएको आरोपसमेत लगाउनुभयो।

कांग्रेसको आधिकारिकताका विषयमा पुनरावलोकनको निवेदन दिएको र त्यसमा पुनरावलोकनको निस्सा प्राप्त भइसकेको उहाँले जानकारी दिनुभयो। आफूहरूलाई न्याय हुने विश्वास रहेको उहाँको भनाइ थियो।

डा. महतले पार्टी सभापति शेरबहादुर देउवा प्राकृतिक र स्वाभाविक रूपमा १५औँ महाधिवेशन गर्ने सभापति भएको दाबी गर्नुभयो। उहाँले राष्ट्रिय सङ्कट समाधानका लागि देउवा लामो समयपछि स्वदेश फर्किनुभएको उल्लेख गर्दै सबै पक्षलाई समेटेर पार्टीलाई एकताबद्ध बनाउने बताउनुभयो।

“हामी सबैलाई जोडेर अघि बढ्छौँ। सबैलाई जोडेर १५औँ महाधिवेशन गरेर शेरबहादुर देउवाले नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्नुहुन्छ। यसमा कुनै द्विविधा छैन,” उहाँले भन्नुभयो।

देशमा राष्ट्रिय सङ्कट गहिरिँदै गएको उल्लेख गर्दै उहाँले नयाँ सरकार गठन भएको चार महिना नपुग्दै अन्यौलता बढेको दाबी गर्नुभयो। सरकार गठनका बेला गरिएको निर्णयप्रति आमनागरिकले नै पछुतो मान्न थालेको उहाँको टिप्पणी थियो।

“नयाँ सरकार बनेको चार महिनामै देशमा अन्यौलता छाएको छ। आम नागरिकले नै हामीले गल्ती गरेछौँ भन्न लागेका छन्,” उहाँले भन्नुभयो।