काठमाडौं, साउन २९ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले देशमा सधैँ शान्ति, लोकतन्त्र र समृद्धि कायम रहनुपर्ने बताउनुभएको छ। उहाँले स्वतन्त्र प्रेससहित शान्ति, लोकतन्त्र र समृद्धि नेपालको संविधानको मूल मर्म भएको उल्लेख गर्नुभएको छ।
शेरबहादुर देउवा पक्षीय नेपाली राष्ट्रिय भेलालाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै नेता सिटौलाले संविधानको मूल मान्यताअनुसार राज्यले नागरिकप्रति आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताउनुभएको हो।
“देशको समृद्धि होस्, लोकतान्त्रिक समाजवादको सिद्धान्तमा रहेर राज्यले उनीहरूको जिम्मेवारी बोक्नुपर्छ। शान्ति, लोकतन्त्र, समृद्धि, स्वतन्त्र प्रेस हाम्रो संविधानको मूल मर्म हो,” उहाँले भन्नुभयो।
उहाँले निर्वाचन आयोगले नेपाली कांग्रेसको गगन थापा पक्षलाई संविधान र कानुनको मर्मविपरीत आधिकारिकता दिएको आरोप लगाउनुभयो। आयोगले यस्तै ढंगले निर्णय गर्दै जाने हो भने न्याय कमजोर हुने उहाँको भनाइ थियो।
“निर्वाचन आयोगले कांग्रेसको गगन थापा पक्षलाई संविधान, कानुन केही नहेरी आधिकारिकता दियो। आयोगले यस्तै गर्ने हो भने न्याय सधैँ मरिरहन्छ। सर्वोच्च अदालतले हामीलाई न्याय दिन्छ भन्ने लागेको छ,” उहाँले भन्नुभयो।
नेता सिटौलाले गगन थापालाई कांग्रेसको सभापति स्वीकार गर्न नसकिने बताउँदै गल्ती सच्याएर अघि बढ्न आग्रह गर्नुभयो। उहाँले पार्टीका सभापति शेरबहादुर देउवालाई पार्टीबाट हटाएर के उपलब्धि हासिल भयो भन्ने प्रश्नसमेत गर्नुभयो।
“गगन थापालाई सभापति भन्न मन छैन, उहाँ कांग्रेसकाे सभापति नै होइन। गल्तीमा हठ गरेर अघि बढ्न सकिँदैन। गल्ती सच्याउनुस्, गल्ती सच्याएर अघि बढ्नुस्। शेरबहादुर देउवालाई पार्टीबाट निकालेर के पाउनुभयो ?” उहाँले प्रश्न गर्नुभयो।
गगन थापा पक्षले पार्टीका अग्रज नेताहरूलाई अपमान गरिरहेको आरोप लगाउँदै उहाँले नेता तथा कार्यकर्तालाई धम्क्याउने र त्रसित बनाउने काम भइरहेको दाबी गर्नुभयो।
देशमा अहिले रहेको सरकार पनि यही संविधानअन्तर्गत बनेको उल्लेख गर्दै नेता सिटौलाले सरकार संविधानको मूल मर्मअनुसार सञ्चालन हुनुपर्ने बताउनुभयो। उहाँले सरकार पर्दापछाडिबाट सञ्चालन भइरहेको आरोपसमेत लगाउनुभयो। “अधिनायकवादी छत्रछायामा छाएको मुर्दा शान्तिलाई हामी शान्ति मान्दैनौँ,” उहाँले भन्नुभयो।
सिटौलाले लोकतान्त्रिक मूल्य, संवैधानिक व्यवस्था र नागरिक स्वतन्त्रताको संरक्षण गर्दै देशलाई शान्ति र समृद्धिको बाटोमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो।













प्रतिक्रिया दिनुहोस्