काठमाडौं, साउन २९ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुक संकटग्रस्त अवस्थामा रहेको बताउँदै देशको अस्तित्व र राष्ट्रियता नै खतरामा परेको दाबी गर्नुभएको छ। उहाँले देश र व्यवस्था जोगाउन कांग्रेस एक हुनु पर्नेमा जोड दिनुभयो ।
शेरबहादुर देउवा पक्षीय नेपाली कांग्रेसको राष्ट्रिय भेलालाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै डा. कोइरालाले कुनै पनि प्रकारको निरंकुशता स्वीकार गर्न नसकिने पनि स्पष्ट पार्नुभयाे । उहाँले नेपाली कांग्रेस अहिले विभाजित मनस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै देशका लागि पार्टी एक ढिक्का हुन आवश्यक रहेको बताउनुभयो। कांग्रेस एक भएर अन्य दल तथा शक्तिसँग सहकार्य गर्दै राष्ट्रियता मजबुत बनाउनुपर्ने उहाँको भनाइ थियो। “देश संकटग्रस्त अवस्थामा छ। देशको अस्तित्व खतरामा छ, राष्ट्रियता खतरामा छ। कसैको निरंकुशता हामी स्वीकार्न सक्दैनौँ,” उहाँले भन्नुभयो।
डा. कोइरालाले नेपाली कांग्रेस एकताबद्ध भएर अन्य राजनीतिक दल र शक्तिसँग मिलेर काम गर्नुपर्ने बताउनुभयो। सबै पक्षसँग सहकार्य गरेर राष्ट्रियता मजबुत बनाउन सके मात्रै मुलुकमा सबैको भविष्य सुनिश्चित हुने उहाँको भनाइ थियो। “नेपाली कांग्रेस एक भएर अन्य दल र शक्तिसँग मिलेर काम गर्नुपर्छ। सबैसँग मिलेर राष्ट्रियता मजबुत गराउन सक्यौँ भने मात्र सबैको भविष्य रहन्छ,” उहाँले भन्नुभयो।
उहाँले संसद्को वर्तमान अवस्थाप्रति समेत चिन्ता व्यक्त गर्नुभयो। संसद् कस्तो अवस्थामा पुगेको छ भन्ने कुरा सबैले देखिरहेको उल्लेख गर्दै उहाँले प्रेस स्वतन्त्रतामाथि समेत अँध्यारो बादल मडारिन थालेको बताउनुभयो।
प्रेस स्वतन्त्रताको संरक्षण गर्ने जिम्मेवारी नेपाली कांग्रेसको भएको उल्लेख गर्दै डा. कोइरालाले लोकतान्त्रिक मूल्य र नागरिक स्वतन्त्रतामाथि देखिएका चुनौती कांग्रेसले चिर्नुपर्ने बताउनुभयो।
उहाँले न्यायपालिका स्वतन्त्र र निष्पक्ष हुनुपर्नेमा जोड दिनुभयो। न्यायपालिका स्वतन्त्र हुनु मात्र पर्याप्त नभई उसले निष्पक्ष रूपमा न्याय सम्पादन गर्नुपर्ने उहाँको भनाइ थियो।
मानव अधिकारको अवस्था पनि पछिल्लो समय अत्यन्त नाजुक बन्दै गएको डा. कोइरालाले दाबी गर्नुभयो। प्रहरीले व्यक्तिका घरमा अनावश्यक खानतलासी गरिरहेको उल्लेख गर्दै उहाँले यस्तो गतिविधि लोकतान्त्रिक व्यवस्थामा स्वीकार्य नहुने बताउनुभयो।
“अहिले मानव अधिकारको अवस्था अत्यन्त नाजुक हुँदै गएको छ। प्रहरीले व्यक्तिका घरमा अनावश्यक खानतलासी गरिरहेको छ। यो अवस्थालाई लोकतन्त्रमा स्वीकार्न सकिँदैन,” उहाँले भन्नुभयो।













प्रतिक्रिया दिनुहोस्