जनता टाइम्स

२९ श्रावण २०८३, शुक्रबार १९:४९

भदाै २४ बाट सुरु भएकाे रोडम्याप जारी छ : पूर्णबहादुर खड्का


काठमाडौं, साउन २९ । नेपाली कांग्रेसका पूर्वउपसभापति एवं पूर्वउपप्रधानमन्त्री पूर्णबहादुर खड्काले मुलुकको राष्ट्रियता र संविधान गम्भीर संकटमा रहेको बताउँदै पछिल्लो समय तराई–मधेशमा देखिएको जातीय तथा धार्मिक द्वन्द्वको घटनालाई भविष्यमा आउन सक्ने गम्भीर संकटको ‘ट्रेलर’ मात्र भएको टिप्पणी गर्नुभएको छ। उहाँले यस्तो संकटबाट मुलुकलाई जोगाउन नेपाली कांग्रेसको आन्तरिक एकता अपरिहार्य रहेको बताउनुभएको छ।

शेरबहादुर देउवा पक्षीय नेपाली कांग्रेसको राष्ट्रिय भेलालाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै नेता खड्काले कांग्रेस विभाजित अवस्थामा रहँदा मुलुकको संकट थप गहिरिन सक्ने बताउनुभयो। उहाँले कांग्रेसभित्रको एकता र लोकतन्त्रवादी शक्तिबीचको ध्रुवीकरणबाट मात्रै राष्ट्रियता र संविधानको रक्षा गर्न सकिने धारणा राख्नुभयो।

हालै मधेशमा देखिएको अस्थिरता र जातीय द्वन्द्वतर्फ संकेत गर्दै खड्काले समयमै सचेत भएर त्यसलाई रोक्न नसके मुलुकले भयावह अवस्था सामना गर्नुपर्ने चेतावनी दिनुभयो। “हामीले  भदाै २४ गते सम्झियौँ भने हाम्रो सभापतिलाई मार्न मात्रै बाँकी राखी त्यो दिनबाट सुरु भएको रोडम्याप जारी छ। चाहे विशेष महाधिवेशनको नाममा होस्, चाहे २१ फागुनको चुनावको नाममा होस्,” उहाँले भन्नुभयो, “त्यसलाई रोक्न सकेनौँ भने मधेशमा हालै भएको जातीय द्वन्द्वको घटनाले देशलाई थरथर बनाएको अवस्था छ। मेरो अन्तरआत्माले भन्छ, त्यो ट्रेलर हो। फिल्म सुटिङ हुनै बाँकी छ।”

नेता खड्काले मुलुकको वर्तमान परिस्थिति विगतको तुलनामा अत्यन्त संवेदनशील रहेको बताउनुभयो। उहाँले २०३३ सालमा जननायक बीपी कोइरालाले राष्ट्रियतामाथि खतरा देखेर मेलमिलापको नीति अवलम्बन गर्दै स्वदेश फर्किएको समयको तुलनामा अहिलेको चुनौती सयौँ गुणा बढी गम्भीर रहेको दाबी गर्नुभयो।

उहाँले राष्ट्रियताको रक्षाका लागि कांग्रेसभित्रको पूर्ण एकता पहिलो शर्त भएको बताउनुभयो। कांग्रेसले सबै राष्ट्रवादी तथा लोकतन्त्रवादी शक्तिलाई एक ठाउँमा ल्याएर मुलुकको राष्ट्रिय हितका लागि काम गर्नुपर्ने उहाँको भनाइ थियो। “अहिले नेपालको राष्ट्रियता र संविधानमाथि ठूलो खतरा छ। यसलाई जोगाउन कांग्रेसभित्रको पूर्ण एकता र लोकतन्त्रवादी शक्तिहरूको ध्रुवीकरण अनिवार्य छ,” उहाँले भन्नुभयो।

नेता खड्काले छिमेकी तथा मित्रराष्ट्रसँगको सम्बन्धलाई समेत राष्ट्रिय हितलाई केन्द्रमा राखेर अघि बढाउनुपर्ने बताउनुभयो। सबै राष्ट्रवादी शक्तिलाई एकताबद्ध गर्दै छिमेकी मुलुकसँगको सम्बन्धमा विशेष ध्यान दिन कांग्रेसको नेतृत्वदायी भूमिका आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो। “यदि हामी एकताबद्ध भएर छिमेकी र मित्रराष्ट्रहरूसँगको सम्बन्धलाई गम्भीरतापूर्वक अगाडि बढाउन सकेनौँ भने देशले ठूलो मूल्य चुकाउनुपर्ने देखिन्छ,” उहाँले भन्नुभयो।

खड्काले पछिल्ला राजनीतिक घटनाक्रमलाई केवल पार्टीभित्रको विवादका रूपमा मात्र नहेरी त्यसले मुलुकको राष्ट्रियता, संविधान र लोकतान्त्रिक व्यवस्थामा पार्न सक्ने प्रभावबारे गम्भीर बन्नुपर्नेमा जोड दिनुभयो। उहाँले मुलुकलाई सम्भावित संकटबाट जोगाउन कांग्रेसलाई एकताबद्ध र प्रभावकारी राजनीतिक शक्तिका रूपमा अघि बढाउनुपर्ने बताउनुभयो।